अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

लोकपथ
63
Shares

काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति (सफ्ट पावर)लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्रामा मानवीय सहायता प्रदान गरेर नयाँदिल्लीले अफगानिस्तानमा आफ्नो उपस्थिति र प्रभाव बलियो बनाएको हो ।

कुनै समयको अफगानिस्तानको अत्यावश्यक साझेदार पाकिस्तानलाई पनि भारतले सफ्ट पावरको प्रयोगबाट किनारा लगाएको निक्की एशियाले बताएको छ । प्रतिकूल परिस्थिति र मौसमका कारण चरम खाद्यान्न अभाव झेलिरहेको अफगानिस्तानलाई एकै खेपमा भारतले २०,००० मेट्रिक टन गहुँ अनुदानस्वरुप उपलव्ध गराउन लागेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)का प्रवक्ताले आगामी महिनामा २० हजार मेट्रिक टन गहुँ इरानको चाबहार बन्दरगाहबाट अफगानिस्तानको हेरात प्रान्तमा पुग्ने बताएका छन् । अफगानिस्तानलाई अनुदानमा गहुँ प्रदान गर्ने नयाँदिल्लीको गत मार्चको यो प्रतिबद्धता दुई महिनाभित्रै पूरा हुनुले दिल्लीको उदारतालाई मात्र प्रतिबिम्वित गर्दैन अपितु ‘छिमेक पहिले’ अर्थात् छिमेकीलाई पहिलो प्राथमिकता भन्ने उसको विदेश नीति कार्यान्वयन भएको मान्न सकिन्छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा अघाषित भोकमरी छ । देशका एक करोड ९० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाबाट ग्रस्त छन् । पर्याप्त भोजनको अभावमा जीवन वा जीविकोपार्जनलाई जोखिममा पारेको जापानी प्रकाशन निक्कीले छापेको छ ।

अफगानिस्तानमा महिलालाई संयुक्त राष्ट्रसङ्घका साथै अन्य राष्ट्रिय एवम् अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न निषेध गरेपछि अन्तरराष्ट्रिय समुदायमा आक्रोश पैदा भयो । त्यसले गरिब राष्ट्रको भविष्यका बारेमा थप चिन्ता बढायो भने संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानबाटै बाहिरिने विषय पनि सतहमा आयो तर त्यहाँको परिस्थितिर्ला दृष्टिगत गरेर भोकमरीको चपेटामा परेका लाखौँ अफगानीलाई खाद्यान्न सहायता पु-याउन प्रतिबद्ध रहेको डब्ल्युएफपीले बताएको छ । “देशभरि मानवीय आवश्यकताहरू धेरै उच्च छन्, भारतकोे योगदानले हामीलाई भोकाएका परिवारहरूमा पुग्न मद्दत गर्नेछ,” डब्ल्युएफपीका प्रवक्ता भन्छन् ।

मानवीय सहायतालाई निरन्तरता दिने भारतको निर्णयले अफगानिस्तानलाई अत्यावश्यक सहायताको महत्वपूर्ण दाताको रूपमा भारतको स्थितिलाई मात्र बलियो बनाउँदैन बरु अगस्ट २०२१ मा सत्ता हातमा लिएको तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता नदिए पनि सकारात्मक सम्बन्ध निर्माण गर्ने नयाँदिल्लीको चाहना स्पष्ट प्रकट गरेको छ ।

नयाँदिल्लीले गत वर्षको मध्यमा काबुलमा प्राविधिक टोली तैनाथ गरेर आफ्नो कूटनीतिक उपस्थिति कायम राख्नुलाई विज्ञहरूले भारतको भूराजनीतिक स्वार्थ र सुझबुझपूर्ण कदम भनेका छन् । अहिलेको खाद्यान्न सहायताले भारतले सहायता प्रदान गर्ने तरिकामा भूराजनीतिक रूपमा महत्वपूर्ण परिवर्तनलाई प्रतिनिधित्व गरेको उनीहरूको ठम्म्याइ छ ।

अफगान सङ्कट सम्बोधन गर्न भारतले पाकिस्तान हुँदै ५० हजार टन गहुँ ढुवानी गर्ने प्रस्ताव गरेको थियो । लामो छलफल रस्साकस्सी तालिवानको दबाबपछि अन्ततः पाकिस्तानले नोभेम्बर २०२१ मा ढुवानी सहमति दिएको थियो । भारतीय गहुँको पहिलो खेप पाकिस्तानबाट गत फेब्रुवरीमा काबुल पुगको थियो । गहुँ आपूर्तिको बाँकी काम पूरा नहुँदै पाकिस्तानले ढुवानीको समयसीमा बढाउन अस्वीकार गरेपछि इरानको चाबहार बन्दरगाहको प्रयोग भारतले गरेको हो । भारत र पाकिस्तानबीचको जटिल सम्बन्धलाई अहिले अफगानीहरूले पृथक् ढङ्गले हेरेका छन् । उनीहरूको समर्थन भारतप्रति रहेको स्पष्ट देखिन्छ ।

काजाकिस्तान, स्वीडेन र लाटभियाका लागि पूर्वभारतीय राजदूत अशोक सज्जनहर चाबहार बन्दरगाहको प्रयोगले अफगानिस्तान र मध्य एसियामा भारतको पहुँच अभिवृद्धि भएको तथा पाकिस्तानको अपरिहार्यतालाई खुम्चिएको टिप्पणी गर्छन् । इस्लामाबाद र काबुलका तालिबानसँगको सम्बन्ध पनि दक्षिणतिर सरेको उनको विश्लेषण छ । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध भएकाले अफगान भूमिमा भारतको कूटनीतिक नभइ प्राविधिक उपस्थिति श्रेयस्कर हुने उनी बताउँछन् । अफगानिस्तानका वास्तविक पीडितसम्म सहायता पु¥याउन भारतको प्राविधिक उपस्थिति आवश्यक भएको उनको कथन छ ।

अफगान तालिबानसँग इस्लामाबादको सम्बन्ध बिग्रिएको छ, काबुलको अक्षमता वा पाकिस्तानी तालिबान आतङ्कवादीहरूलाई लगाम लगाउन अनिच्छुक भएको कारण । इस्लामाबादले सधैं आफ्नो प्रभाव क्षेत्र भित्र रहेको विश्वास गरेको देशसँगको सम्बन्धलाई अब भारतले बलियो बनाउँदै गएको पूर्वराजदूत सज्जनहर बताउँछन् ।

एक जना पाकिस्तानी विश्लेषक भने भारत र अफगानिस्तान स्वायत्त देश भएकाले उनीहरूको सम्बन्धलाई पाकिस्तानको नजरबाट हेर्न नहुने तर्क गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयमा नीति सल्लाहकार रहेका मोशर्रफ जैदी भारत र अफगानिस्तान स्वतन्त्र देश हुन् जसले एकअर्कासँग स्वायत्त, स्वतन्त्र सम्बन्ध कायम गर्नु नौलो विषय नभएको टिप्पणी गर्छन् । क्षेत्रीय रूपमा जति धेरै देश एकअर्काबीच सहकार्य र साझेदारी गरेर अघि बढ्छन् त्यसले पाकिस्तानको अहित नहुने उनको बुझाइ छ । आणविक शक्ति सम्पन्न पाकिस्तान र भारतबीचको द्वन्द्व अन्त्य हुनुपर्नेमा उनको जोड छ । अफगानिस्तान र भारतकोजस्तै पाकिस्तानसँगको सम्बन्ध पनि सुमधुर भएका क्षेत्रीय शान्ति र समृद्धिमा योगदान पुग्ने उनी बताउँछन् ।

अफगानिस्तानका अन्तर्राष्ट्रिय रूपमा पृथक् रहेको र एक्लिएको अफगानिस्तानले आफ्नो भूमिमा भारतको उपस्थितिलाई स्वागत गरेका छन् । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद भारत यस क्षेत्रको महत्वपूर्ण देश भएकाले अफगानिस्तानले उसलाई उच्च महत्व दिएको बताउँछन् । “हामी भारतसँग राम्रो, मैत्रीपूर्ण र बलियो जन–जनताको सम्बन्ध राख्न चाहन्छौँ, भारतले भर्खरै २०,००० मेट्रिक टन गहुँ दिने घोषणा गरेको तथ्य अफगानिस्तानका जनताका लागि ठूलो सहयोग हो । हामी यो सहयोगको लागि भारतका जनता र सरकारप्रति धेरै आभारी छौँ,” उनले निक्की एशियालाई भनेका छन् ।

अफगानिस्तान र भारतबीच गहिरो सम्बन्धका अन्य सङ्केतहरू भए पनि नयाँदिल्लीले काबुलसँग खासै अपेक्षा गरेको छैन । भारतले गहुँ उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि तालिवानको परराष्ट्र मन्त्रालयले मार्चको मध्यमा भारतीय दूतावासमार्फत मन्त्रालयका आफ्ना कर्मचारीका लागि चारदिने तालिम व्यवस्थापन गरेकामा भारतप्रति आभार व्यक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?