कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकूदको महत्व बुझेर सोहीअनुसार विकासको योजना बनाउनु पर्ने बताएका छन् ।
जिल्लास्तरीय सामुदायिक विद्यालयस्तरीय प्रथम सिर्जना कप छात्र÷छात्रा भलिबल प्रतियोगिताको समापन समारोहमा बोल्दै उनले विगतमा खेलकूदको महत्व सरकारले बुझे पनि लगानी नगरेको हुँदा अब लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।
खेलकूदका माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । प्रदेशसभा सदस्य राजीव पहारीले खेल पूर्वाधारको अभावमा नेपाली खेलाडीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसकेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय मावि प्रथम, कालिका मावि द्वितीय तथा भद्रकाली माविले तेस्रो स्थान हासिल गरे । छात्रातर्फ जनप्रिय मावि प्रथम, तालबाराही द्वितीय तथा बालमन्दिर माविले तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगितामा उपाधि विजेता छात्रछात्रा दुवैलाई नगद ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट सर्भरलाई पनि समान पाँच÷पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यही माघ ९ गतेदेखि शुरु भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ नौ विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया