काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिज २-१ जित्दै नयाँ इतिहास बनाएको नेपाली टोलीलाई प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भने, ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन चाहान्छु, अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ ।’
साथै प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको विकासमा लागि सरकारले थप ध्यान दिने पनि बताए ।
यता राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले पनि विजेता राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
उनले लोकपथलाई भने, ‘नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमले युएईसँगको एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपाल र नेपालीहरुको शिर उच्च बनाएको म धन्यवाद तथा बधाई दिन ज्ञापन गर्दछु, साथै युएईविरुद्धको तीन टी-ट्वान्टी क्रिकेट सिरिजमा पनि जितको अग्रिम शुभकामना दिन चाहान्छु ।’
त्यस्तै उनले नेपालले पाएको यो ऐतिहासिक सफलतापछि क्रिकेटमा लामो समयदेखि रहेको विवादको पनि अन्त्य हुने बताए ।
‘हामीहरु चाडै नै नेपाल क्रिकेट संघ ‘क्यान’को समाधानमा उन्मुख हुनेछौँ, राष्ट्रिय खेलकुद परिषद्ले सुस्म ढंगले क्यान विवादलाई नियाली रहेको समेत छ’, उनले लोकपथलाई जानकारी दिए ।
यता राष्ट्रिय प्रजातन्त्र पाटी ‘राप्रपा’का अध्यक्ष कमल थापाले पनि नेपाली टिमलाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘युएईविरुद्ध नेपालले गरेको शानदार जीतमा बधाई दिन चाहान्छु, साथै कप्तान पारस खड्कालाई पनि शतकिय पारी खेलेकोमा बधाई दिन चाहान्छु, अन्तराष्ट्रिय सिरिजमा नेपालका लागि खड्काले गरेको यो नै पहिलो शतक पनि हो ।’
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले पनि नेपाली टिमले युएईविरुद्ध गरेको प्रदर्शन र सफलतालाई बधाई दिए । साथै उनले तीन टी-ट्वान्टी क्रिकेटको लागि अग्रिम शुभकामना पनि दिएका थिए ।
यता कांग्रेस नेता डा.रामशरण महतले पनि नेपाली टिमलाई बधाई दिएका छन् । युएईसँगको एकदिवसीय क्रिकेटमा नेपाली टिमले गरेको प्रदर्शन र कप्तान पारस खड्कालाई समाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै बधाई दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवा तथा पूर्व सभामुख ओनसरी घर्ती मगरले पनि बधाई दिएका थिए ।
नेपालले सोमवार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै सिरिज आफ्नो पोल्टामा पारेको थियो । यसअघि भएको पहिलो एकदिवसीयमा खेलमा भने नोपल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो ।
नेपालले नेदरल्याण्डविरुद्ध पहिलो एकदिवसीय क्रिकेट रिसिज खेलेको थियो । जुन सिरिज एक-एकको बराबरीमा सकिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’बाट एकदिवसीयको मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो सिरिज खेलेको हो ।अब नेपालले युएईविरुद्ध तीन टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया