३० वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको ऐतिहासिक सफलता

काठमाडौं । नेपाली क्रिकेट संघ ‘क्यान’को विवाद अहिलेसम्म सुल्झिएको छैन । तर, तीन वर्षसम्म नेतृत्वविहिन बनेको नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन एकदिवसीय क्रिकेटको सिरिज २-१ ले जित्दै नेपाली क्रिकेटमा नयाँ इतिहास बनाएको हो । ‘क्यान’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’को निलम्बलनमा परेको तीन वर्ष नाघिसक्यो । तर, अहिलेसम्म विवाद समाधान भने हुन सकेको छैन । 

यहि तीन वर्षको नेतृत्वविहिन नेपाली क्रिकेटले पनि एक पछि अर्को सफलता हात पार्दै आइरहेको छ । क्रिकेटमा भारत, पाकिस्तान, इंग्ल्याण्ड लगायतका टिमलाई निक्कै बलियो मान्दै आइरहेको छ । एकदिवसीय क्रिकेट होस, वा टेस्ट अथवा विश्वकप क्रिकेट । यी तीन वटै राष्ट्रले विश्व क्रिकेटमा एक छत्र राज गरिरहेको छ । तर, भारत र पाकिस्तानलाई पच्छाउँदै नेपाल पनि विश्वकप खेल्ने सपनाका साथ लागि परिरहेको छ ।

कति नेपाली खेलाडीहरुल भारत र पाकिस्तान लगायतका खेलाडीले बनाएका विश्व कीर्तिमान समेत तोड्न सफल भइसकेका छन् । 

युएईविरुद्धको एकदिवसीय खेलका दौरान नेपालका युवा क्रिकेटर रोहित कुमार पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड समेत बनाएका थिए । उनले भारतीय पूर्व क्रिकेटटर सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको नाम रहेको विश्व कीर्तिमानलाई तोडेका थिए ।

यो कीर्तिमान सचिन नाममा १६ वर्ष २ सय १३ दिनको तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको थियो । तर, रोहित १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाएका थिए । 

वि.सं २०७३ साल बैशाखमा सम्पन्न भएको साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर ‘क्यान’ विवादले उग्ररुप लिएपछि आइसीसीले निलम्बन गरेको थियो । तर, अहिले क्यान विवाद समाधान गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र आइसिसी पनि लागि परिरहेको छ । 

‘क्यान’ निलम्बनमा नै परेको अवस्थामा गत वर्षमात्र नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो । तर, पहिलो नेदरल्याण्ड्सविरुद्धको पहिला एकदिवसी क्रिकेट सिरिज एक—एकको बराबरी खेलेको नेपालले युएईसँगको सिरिज भने आफ्नो पक्षमा पार्दै विश्व क्रिकेट ध्यान आफूतिर खिच्न सफल भएको छ । 

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी विनोद दासले क्यान विवाद यथावत रहँदा पनि नेपालले दुई वटा उपलब्धि हासिल गर्नु गर्व विषय रहेको बताए । साथै उनले नेपालमा पनि एक दिवसीय सिरिज खेल्न सक्ने पूर्वाधारको निमार्ण गर्नु पर्ने जानकारी दिए । 

यता नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले पनि घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरूको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताए । ‘नेपाली क्रिकेटको विकासका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउन जरुरी छ’, उनले भने ।  

नेपालको तीन दशक लामो अन्तर्राष्ट्रिय यात्रा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’को सदस्यता पाएको तीन दशक नाघिसक्यो । 

३० वर्षको क्रिकेट यात्रामा नेपालले गत वर्ष मात्र चार वर्षसम्मको लागि एकदिवसीय मान्यता पाएको थियो । नेपाल सन् १९८८ मा आइसीसीको सदस्य बनेको बने पनि एसोसिएट राष्ट्रको मान्यता भने सन् १९९६ मा मात्र पाएको थियो ।

अघिल्लो वर्ष नामिवियामा सम्पन्न डिभिजन-२ को उपविजेता बन्दै एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो । सीमित स्रोतसाधनमा नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा वि.सं २०४४ सालबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान ग-यो ।

नेपालले वि.सं २०५२ सालमा मलेशियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा सहभागिता जनाउँदै पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट यात्राको थालनी गरेको थियो । नेपालले वि.सं २०५५ सालमा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना ग-यो ।

त्यतिबेला एसिसी ट्रफी क्रिकेट प्रतियोगिता आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा समेत फड्को मारेको थियो । त्यतिबेला कीर्तिपुरस्थित त्रिवी मैदान र पुल्चोकको क्रिकेट मैदानको निर्माण गरिएको हो । 

त्यस्तै सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता बन्यो । फाइनल खेलमा नेपाल युएईसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । त्यसै वर्ष नेपालले इमर्जिङ नेसन्स कपको उपाधि जित्यो ।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने क्रममा नेपालले सन् २००८ मा जर्सीमा भएको विश्व क्रिकेट लिग डिभिजन–५ खेल्नयो । समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल ग-यो । 

सन् २०१० को फेब्रुअरीमा काठमाडौँमा सम्पन्न डिभिजन–५ को उपाधि नेपालले जित्यो । फाइनल खेलमा अमेरिकालाई हराउँदै नेपालले उपाधि जितेको थियो । 

त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो । सन् २०१२ मा डिभिजन–४ जितेर डिभिजन–३ मा उक्लिएको थियो । सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै नेपाल डिभिजन–२ मा उक्लिएको थियो । 

विवाद अझै सुल्झिएन 

नेपाल क्रिकेट संघ ‘क्यान’ निलम्बनमा परेसँगै सबै व्यवस्थापकीय पक्ष आइसिसीले हेर्दै आइरहेको छ । 

आइसिसीले निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्बित नेपाल क्रिकेट संघ ‘क्यान’ले राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । क्यान विवाद सुल्झाउने आउँदो फेब्रुअरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ । 

वि.सं २०७२ मा खेलकुद परिषद्ले निर्वाचित ‘क्यान’लाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

त्यसको चार महिनापछि वि.सं २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै ‘आइसीसी’ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । 

नेपाल आइसीसीको एकदिवसीय बरियतामा समावेश

युएईविरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिज जितेसँगै नेपाल आइसीसीको एकदिवसी क्रिकेटको वरियतामा समावेश भएको छ ।

दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । ‘युएइ’विरुद्धको सिरिज जितेपछि नेपालले एकदिवसीय वरियताको १५ औँ स्थानमा रहेको छ । नेपालले आइसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १ सय ५२  अंक पाएको छ ।

 २ सय ६३ अंक बनाएको युएई भने  १४ औँ स्थानमा छ ।

एकदिवसीय क्रिकेटको वरियतामा

एकदिवसीय वरियतामा रहेका राष्ट्रहरु :-

इंग्ल्याण्ड-पहिलो

भारत-दोस्रो

न्यूजील्याण्ड-तेस्रो 

दक्षिण अफ्रिका-चौथो

पाकिस्तान-पाँचौँ

अष्ट्रेलिया-छैटौँ

बङ्गलादेश-सातौँ

श्रीलङ्क-आठौँ

वेष्टइन्डिज-नवौँ

अफगानिस्तान-१०औँ

जिम्बावे-११ औँ

आयरल्याण्ड-१२ औँ

स्कटल्याण्ड-१३ औँ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?