बिना धितो ऋण सुविधाले उद्यम विकासमा सहयोग

म्याग्दी । दुई-चार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग परेकी छिन् । 

आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थालेकी हुन् । 

५० हजार ऋण लिएर तीन वर्षअघि बाख्रापालन शुरु गरेकी विश्वकर्मा अहिले घर व्यवहार र छोराछोरीको पढाइ खर्च पु¥याएर बचत गर्न थालेको बताइन् । एकतीस महिला मिलेर  २० का दरले बचत सङ्कलन गरेर २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाले सामूहिक जमानीको आधारमा कर्जा उपलब्ध गराएपछि सजिलो भएको छ । 

जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूहमार्फत ७०१ सदस्य सहकारीमा आबद्ध गराएर तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैँसीपालन, पसल, व्यापारलगायतका कामका लागि एक करोड ६ लाख २४ हजार ८६५ लगानी गरिएको अध्यक्ष शान्ता लामिछानेले बताइन् । 

एक पटकमा ५० हजारसम्म लगानी गरिएको उनीले जानकारी दिइन् ।  सहकारीमा आवद्ध भएपछि महिला र बालबालिकामा फजुल खर्च न्यूनीकरण र नियमित बचत गर्ने बानीको विकास भएको छ ।

यसैगरी मल्लाजमै रहेको साना किसान कृषि सहकारी संस्थाले पनि कृषकलाई बिना धितो जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख लगानी गरेको अध्यक्ष हेमकुमारी अधिकारीले बताइन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले जानकारी दिइन् । 

पाँचसम्मको १ सय ४ समूह बनाएर सामूहिक जमानीका आधारमा बिनाधितो एक जनालाई एक पटकमा एक लाखसम्म ऋण लगानी गरिएको सहकारीले जनाएको छ । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाईभैँसीपालन, तरकारी र फलफूल खेतीमा लगानी बढाउने योजना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?