बाग्मती सफाईको तीन सयौं हप्ता भव्य रुपमा मनाउने सरकारको तयारी

काठमाडौं । सरकारले बागमतीनदी सफाई अभियानको ३ सयौं हप्तालाई भव्य रुपमा मनाउने तयारी गरेको छ ।

आगामी २६ गते सरसफाई अभियानको ३ सय हप्ताको अवसर पारेर सरकारले स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान भन्ने नारासहित मुलुक भर सरसफाईको सन्देश दिने गरी बिशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

तीन सय हप्ता सफाई अभियानको संयोजन शहरी बिकास मन्त्रालय गरेको छ । अभियानको तयारी गर्न शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बिशेष कार्यक्रम मूल समारोह समिति गठन भएको छ । 

कार्यक्रमलाई भव्य एवं बिशेष बनाउन प्रधानमन्त्रीको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

उक्त सफाई अभियानलाई सफल बनाएर देशभर सरसफाईको सन्देश दिनमन्त्रालयको समन्वयमा लगातार तयारी बैठक आयोजना गरिएको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए । मन्त्री राईले बागमती सफाई अभियानले मुलुकभर नै सरसफाईको सन्देश गएको भन्दै यसलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहने उल्लेख गरे । 

सरकारी निकायसँगको समन्वय, अभियान्ता, विभिन्न संघसंस्था, सर्वसाधरण र बिशेष गरी सुरक्षा निकायको महत्वपुर्ण भूमिका कारण बागमती सफाई अभिायानले निरन्तरता पाएको भन्दै मन्त्री राईले सरसफाईका लागि जनस्तरमा सचेतना जगाउन आवश्यक रहेको टिप्पणी गरे । 

शहरी बिकास मन्त्रालयका सचिवडा. रमेश प्रसाद सिंहले तीन सय हप्ताको सफाई अभियानलाई सफल बनाउन मन्त्रालयले दैनिक जसो सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै काठमाडौं उपत्यकाबाहिर पनि सरसफाई अभियानको थालनी गराउन मन्त्रालयले बिशेष पहल गर्ने बताए । 

यसैबीच शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले तीन सय हप्ताको अवसरका माघ २६ गते हुनलागेको सफाई अभियानमा अनिवार्य उपस्थित हुन मन्त्रालय मातहतका सबै कर्मचारीलाई निर्देशन दिएको छ । 

उक्त सफाई महाअभियानको नेतृत्व शहरी विकास मन्त्रालयले लिएकाले त्यस दिन उपस्थित भएर सरसफाईमा सहभागी हुन मन्त्री राईले कर्मचारीलाई निर्देशन दिएका हुन् ।  त्यसका लागि मन्त्रालयले काठमाडौं उपत्यकाभित्र रहेका मातहतका सबै निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य उपस्थित हुन पत्राचार गर्ने तयारी छ । आ–आफ्नो घर घरबाट सफाई अभियानमा सहभागी भई सहयोग गर्न समेत मन्त्री राईले सबैलाई अपिल गरे । 

२०७० जेठ ५ गतेदेखी शुरु भएको बागमती सफाई अभियानमा हालसम्म १० लाख सहभागी भएका छन् भने २ हजार संघ संस्थाको प्रतिनिधित्व भएको छ । 

यो अभियानमा अहिलेसम्म करिब १२ हजार मेट्रिकटन फोहर व्यवस्थापन भएको छ । यो अभियान देशको सबैभन्दा लामो, सेवामूलक र सबैको लोकप्रिय महाअभियानका रुपमा परिचित भएको छ । २०७२ को बिनाशकारी भूकम्पका बेला समेत यो अभियान संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?