वन एक्स बेटमा संलग्न बल्छी, राजु मास्टर, बेगम र म्याकुरीसहित ८ जना पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । वन एक्स बेटमा कारोबार र विज्ञापन गरेको आरोपमा प्रहरीले ८ जना कलाकारलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहिबार हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, राजु पौडेल उर्फ राजु मास्टर, पबन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला), अलिस राई, सरोज घिमिरे, गणेश देवकोटा, जलन घर्तीमगरलगायतलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले लोकपथलाई जानकारी दिए ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मा आवद्ध भई कारोबार तथा विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि अनुुसन्धान गरी कारबाही गर्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले रेग्मीले जानकारी दिए ।

पछिल्लो समय बेटिङमा युवापुस्ताको आकर्षण बढेकोभ भन्दै प्रहरीले विशेष अनुसन्धान गरिरहेको छ । हिजो बुधबारमात्रै वान एक्स बेटिङमा कारोबार गर्ने पाँचजना एजेण्टलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो ।

बुधबार पक्राउ पर्नेमा कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने रहेका छन् ।

उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक डा केसीले बताए । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?