गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा, ३ अर्ब खर्च हुने अनुमान

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गरेको छ । 

चितवनको भरतपुर महानगरपालिका रामपुरस्थित रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा नयाँ क्रिकेट मैदान निर्माण गर्ने बुधवार घोषणा गरेको हो । उक्त क्रिकेट स्टेडियम ३० हजार दर्शक क्षमता रहेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले अत्याधुनिक सुविधासम्पन्न स्टेडियम निर्माण गर्न लागेको हो । 

बुधवार फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता भएको हो । 

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राख्ने बताइएको छ । फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार क्रिकेट स्टेडियम आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरि महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

उक्त स्टेडियम निर्माणको लागि ३ अर्ब खर्च लाग्ने अनुमान समेत गरिएको छ ।  देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए । 

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने पनि कट्टेलले जानकारी दिए । 

यो फाउन्डेसनले जनसहयोगबाटै भूकम्प पिडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्तीको निर्माण गरेको थियो ।  ‘गौतम बुद्ध क्रिकेट रंगशाला विश्वकमा नै नमूना रंगशाला हुनेछ, हामीहरुले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’को सबै मापदण्डहरु पूरा गर्नेछौँ, यसमा नेपाली मौलिकताले पनि भरिपूर्ण हुनेछ’, उनले बताए । 

साथै उक्त स्टेडियमको थ्रीडी डिजाइन पनि तयार पारेको छ । अबको ६ महिनाभित्रै गुरुयोजना तयार पारेर, स्टेडियमको शिलान्यास समेत गरिने उनले बताए । 

‘रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको छ, अब रंगशाला निर्माणको लाग्ने सबै खर्च जनसहयोगबाटै जुट्ने अपेक्षा पनि लिएको छुँ’, उनले थपे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?