हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । 

८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक १८ करोडदेखि २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ । 

उद्योगले हाल दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए । 

नेपाल सरकारको सहयोग भएमा सम्भाव्यताको आधारमा एक हजार २ सय  देखि दुई हजार ५ सय टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष रहेको उद्योग प्रसाशनले बताएको छ । 

बजार डिलरका अनुसार हेटौँडा सिमेन्ट उद्योगको माग अत्यधिक छ । यसको क्षमता वृद्धि भएमा बजार राम्रो हुने बताइएको छ । निजी क्षेत्रमा उत्पादित सिमेन्ट केही सस्तो भएकाले यसले आफ्नो बिक्री मूल्य घटाउनु पर्ने हेटौँडाका सिमेन्ट व्यवसायी रामप्रसाद साहले भने ।

यो उद्योगको उत्पादन गुणस्तरीय हुन्छ भन्ने सर्वसाधारणको विश्वास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?