काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
दुबईस्थित आइससिी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा बिहीवार भएको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको हो । १ सय ५४ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालको पारी ७ विकेटको क्षतीमा मात्र १ सय ३२ रनमा समेटिएको थियो ।
नेपालका लागि युवा क्रिकेटर सन्दिप जोराले अर्धशतकिय पारी खेल्दै ५३ रन बनाए ।
त्यस्तै ओपनर ब्याट्सम्यान प्रदिप ऐरी शुन्य रनमा आउट भए । एक दिवसीय क्रिकेटमा शतकिय पारी खेलेका कप्तान पारस खड्का २५ रन बनाएर पेभेलियनमा फर्किए । उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन, दिपेश सिंह ऐरी, रोहित पौडेल र करण केसीले समान ४-४ रन जोडे । सोमपाल कामीले २७ रन जोडे ।
युएईका लागि जाहोर खान, सुल्तान अहमेद र मोहम्मद नाभिदले समान २-२ विकेट हात लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि ओपनर ब्याट्सम्यान आश्फाक अहमेद मात्र २ रन बनाएर आउट भए । उनलाई नेपालका सन्दिप लामिछानेले क्याच आउट गरे । त्यस्तै अर्का ओपनर ब्याट्सम्यान सिपी रिज्वान २२ रन बनाएर पेभेलियनमा फर्किए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुलाम शाब्बरले ८ रन तथा कप्तान मोहम्मद नाभिद मात्र १ रन जोडेर आउट भए । चौथो नम्बरमा ब्याटिङ लाइनमा आएका शाइमन अन्वारले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा ५ चौका र २ छक्काको मदतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० रन बनाएर आउट भए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट तथा सोमपाल कामी र अबिनाश बोहराले एक-एक विकेट हात पारेका थिए । अब नेपालले भोली ‘शुक्रवार’ दोस्रो टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया