फ्राइडे रिलिजः एकसाथ तीन नेपाली फिल्म भिड्दै

काठमाडौं । आज शुक्रवारदेखि नेपालभर तीन नेपाली चलचित्र रिलिज हुँदैछन् । नेपालभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा चलचित्र ‘गोपी’, ‘रणवीर’ र ‘सय कडा दश’ रिलिज हुन लागेका हुन् ।
प्रचारका हिसाबले फिल्म ‘गोपी’ र ‘रणवीर’ चर्चामा छन् भने हास्यकलाकार मनोज गजुरेलका कारण फिल्म ‘सयकडा दश’ ले राम्रै चर्चा कमाएको छ ।

‘गोपी’ मा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोलाराज सापकोटा, अंकित खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । यस्तै फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । उनले यसअघि फिल्म ‘घामपानी’ निर्देशन गरेर चर्चा बटुलेका थिए । फिल्मले एक गाई पालक किसानको कथा उठाएको छ ।

यस्तै आजैबाट रिलिज हुने चलचित्र ‘रणवीर’ मा सुशील सिटौला शीर्ष भूमिकामा छन् । यो फिल्मलाई लभस्टोरी एण्ड एक्सन जानराको फिल्म भनिएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुभेच्छा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म ट्रेलरकै कारढा पनि चर्चामा छ । यो  फिल्ममा गोविन्द सिंह ठकुरीको निर्देशन रहेको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सयकडा दश’ लाई मनोरञ्जनात्मक र भ्रष्टाचारविरुद्धको फिल्म भनिएको छ । यो फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, कुरुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायतले अभिनय गरेका छन् भने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘प्रेम गीत २’ निर्देशन गरेका थिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?