डा. केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । 

संसदका दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि विधायिकी प्रक्रियाबाट डा.केसीका माग पूरा गर्ने सम्भावना तत्कालका लागि टरेको छ । 

प्रतिनिधिसभाबाट माघ ११ गते र राष्ट्रयसभाबाट बिहीवार (माघ १७ गते) राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो । 

दुवै सदनबाट बहुमतले पारित भएको विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गर्नासाथ यो कानूनका रूपमा कार्यान्वयनमा आउँछ । 

तर, डा.केसीले आफ्ना माग पूर्ण रुपमा नसमेटिएको भन्दै अनसन जारी राख्ने बताएका छन् । 

उता डा. केसीसँग भएको सहमति अनुसार सरकारले ९५ प्रतिशत माग पूरा गराएपनि बाँकी ५ प्रतिशत कसको दबावमा नसमेटेको भन्ने प्रश्न केसी पक्षहरुको छ । 

यता अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ । डा

.केसीलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर, आफ्नो माग पूर्ण रुपमा पूरा नभएसम्म उपचार नगर्ने बताउँछन् । 

यसैगरी आजबाट डा.केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सा संघले त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?