नेपाली राष्ट्रिय फुटबल टिमका लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो साफ च्याम्पियनसिप । १४ औं संस्करणको साफ च्याम्पियनसिप आज (बुधबार) बाट भारतमा शुरु हुँदैछ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् भने फिफाको प्रतिबन्धका कारण यस संस्करणमा श्रीलंकाले सहभागिता जनाउन पाएन ।
साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ मा शुरु हुनेछ ।
नेपाललाई चुनौतीका चाङ
विभिन्न उतारचढावकाबीच नेपाली राष्ट्रिय टोलीले साफ प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको फुटबल जगतलाई उकास्ने जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण नेपाली फुटबलले फड्को मार्न सकेको छैन । एन्फाका पदाधिकारीहरु खेल तिर भन्दा पनि आफ्नो व्यक्तिगत विकासमा बढी केन्द्रित भएपछि नेपालले यो नियति भोग्नु परेको हो ।
उसो त नेपाललाई यस संस्करणको साफमा पहिले जस्तो सजिलो भने पक्कै छैन । एक त नेपाली राष्ट्रिय टोलीले नयाँ प्रशिक्षक पाएको धेरै समय नुहनु र प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले बिना प्रशिक्षण साफको टोली घोषणा गर्नुले नेपाली टोलीलाई गाह्रो पर्ने विश्लेषण गरिएको छ ।
विगतका संस्करणमा नेपालले साफमा सहभागि हुनु अघि पर्याप्त अभ्यास गर्थ्यो। यद्यपि, यसपाली पर्याप्त अभ्यास नहुनु र राष्ट्रिय टीमका खेलाडीहरु नेपालमा भविष्य नदेखेर विदेश पलायन हुनुले पनि नेपालमाथि थप चुनौति देखिन्छ ।
उसो त यसपाली नेपाललाई समूह चरण पार गर्न नै कठिन पर्ने देखिएको छ । विगतमा समूहचरण सजिलै पार हुने गरेको नेपाललाई यस पटक भने आमन्त्रित टोली कुवेत र लेवनानले चुनौति थपिरहेका छन् ।
नेपालको समुहमा पाकिस्तान भारत र कुवेत रहेका छन् । त्यसैले पनि यसपटक नेपाललाई आफ्नो दक्षता प्रस्तुत गर्दै समूहचरण पार गर्न आवश्यक रहेको छ । पाकिस्तान र भारतले आफ्नो फुटबलको स्तरलाई दिन दिनै सुधार्दै लगेको अवस्थामा नेपालले भने मुख्य प्रशिक्षकको नियुक्ति र लिगकाे आयाेजना गर्नका लागि नै समय खेर फालिरहेको छ ।
साफमा नेपाललाई सधै भारत तगारो
विगतलाई एकपटक फर्केर हेर्ने हो भने नेपालका लागि भारत सधैँ तगारोका रुपमा तेर्सिने गरेको छ । थुप्रै प्रतियोगितामा नेपालमाथि हाबी हुने गरेको भारत साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा सर्वाधिक सफल टोली हो । त्यसो त भारत नेपाललाई मात्रै नभएर दक्षिण एसियाली राष्ट्रहरुका लागि तगारो बन्ने गरेको छ ।
नेपाल भर्सेज कुवेत : हेड टु हेड
कुवेत नेपालका लागि निकै परिचित टोली हो । फिफा वरियतामा नेपाल १७४ स्थानमा रहेको छ भने कुवेत १४३ औँ स्थानमा छ । नेपाल र कुवेतले हालसम्म ९ वटा खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नेपाल ८ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
सन् १८८२ मा भएको एसियन गेम्समा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । त्यसपछि सन् १९८६ को एसियन गेम्समा नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै, सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित भयो । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल र कुवेतबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि, २०१९ कै मार्च २५ मा भएको दोस्रो मैत्रीपूर्णमा नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो ।
विश्वकप छनोट अन्तर्गत २०१९ मा भएको खेलमा पनि नेपालले कुवेतविरुद्ध ७–० को हार व्यहोरेको थियो । नेपालले कुवेतसँग २०१९ मा विश्वकप छनोट अन्तर्गत भुटानमा भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो ।
नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणीकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आशीष चौधरी, विमल घर्तीमगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया