बुधबार १९ मङ्सिर, २०७५ Friday, 26 April, 2019

काठमाडौं शहरलाई पेन्टिङले सजाउँदै लक्ष्मण श्रेष्ठ

कलामार्फत क्रान्ति : चित्रले सरकारलाई प्रश्न तेर्साउँछ

काठमाडौं । ७४-१०० इन्चको अँध्यारो, साँघुरो कोठा जुन कुनै दिन लक्ष्मणको भान्सा हुने गथ्र्यो, अहिले उनको सुत्ने, खाने, बस्ने, चित्र कोर्ने एकप्रकारको घर नै भएको छ । फराकिलो कोठाको भाडा तिर्ने पैसा नभएपछि उनी यसो गर्न बाध्य भएका हुन् । 

एउटा सानो खाट मात्रै अट्ने उक्त कोठामा खाना पकाउने ठाउँसमेत छैन । होटलमा खानलाई लक्ष्मणसँग पर्याप्त पैसा पनि हुँदैन । यही कोठा पनि भाडा तिर्न नसकेकाले कुन दिन छोड्नुपर्ने हो टुङ्गो नभएको उनी बताउँछन् । त्यसैले, गाँस, बास, कपासको ठेगान नभएका लक्ष्मण आफूलाई ‘फिरन्ते’ भन्न रुचाउँछन् । 


ADVERTISEMENT

तर, यही अस्पट कोठामा उनलाई स्पष्ट विचार फुर्छ, आफ्नो कलालाई तिखार्ने नयाँ उर्जा मिल्छ, खाट छेउमा भएको सानो प्वालबाट देखिने चन्द्रमाको शीतलताले दिनभरि दन्किएकोे भोक, प्यास, समस्याहरुको रापलाई शान्त पारिदिन्छ । कोठामा भित्तैभरी लक्ष्मणले कोरेका चित्रका तस्वीर छन् । यही तस्वीरले ‘एन्टी डिप्रेसेन्ट’को काम गर्दै आएको उनी बताउँछन् । 

‘एउटा चित्रकारलाई आफूले बनाएका चित्रहरु छोराछोरी जस्तै प्रिय लाग्छ,’ एकपटक आफ्ना सबै चित्रमा आँखा डुलाउँदै उनी थप्छन्, ‘हरेस खाएको बेला पनि यिनैलाई हेरेर आफूलाई सम्हाल्छु ।’

उधारो रङ्गबाट बनाएको चित्र

३० वर्षे लक्ष्मण श्रेष्ठले चित्रकला शुरु गरेको झण्डै १ दशक भयो । स्कुल छँदा रुचिका रुपमा चित्र कोरे पनि आफ्नो भविष्य यसैमा देखेका थिएनन् उनले । सामान्य परिवार त्यसमाथि घरका जेठा छोरा भएकाले जन्मदै उनको काँधमा जिम्मेवारी थपियो । त्यही जिम्मेवारी निभाउने क्रममा उनले एसएलसीपछि कलालाई भन्दा पढाइ र जगिरलाई नै प्राथमिकतामा राखे । आफू चित्र बनाउनलाई नै जन्मिएको भनेर धेरै पछि मात्रै अनुभूति भएको उनले सुनाए । 

‘त्यतिबेला म महिनामा २७ हजार कमाउँथें,’ लक्ष्मण अगाडि थप्छन्,‘तर, मैले पैसाको लोभ गरिन, सबै त्यागेर कला रोजें ।’

शुरुशुरुमा उनका बाआमाले पनि छोराको स्थायी जागिर होस् भनेरै चिताएका हुन् तर, लक्ष्मणको खुसी थियो कलामा । अन्ततः लक्ष्मणको खुसीमै उनका बाबुआमाले आफ्नो खुसी पाए । लक्ष्मणलाई आफ्नो सपना पूरा गर्नलाई स्वतन्त्र छोडिदिए ।

तर, सपनाको मू्ल्य महंगो हुन्छ सबैलाई थाहा भएकै कुरा हो । त्यही महंगो सपनालाई साकार गर्न लक्ष्मणले जीवनमा धेरै सम्झौता गर्नुपरेको छ, चाहे त्यो हजारौंको जागिर छोडेर होस् या सडकमा सुतेर या दिनौं भोकै बसेर । 

यद्यपि, त्यही भोकलाई चित्रमा उतार्ने क्षमता छ उनमा । घरभाडा तिर्न नसकेर घरबेटीले पुलिसलाई बोलाउँदाको पीडा र बेइज्जतिलाई पनि रङ्गमार्फत् क्यानभासमा उतारेका छन् उनले ।

कतिपटक भोकाएको बेला रुँदै चित्र कोर्दा क्यानभासमा झरेका आँसुलाई पनि उनले रङ्गमा समेटेका छन् । त्यसैले आजकल ठूल्ठूला समस्याहरु पनि नयाँ कन्सेप्ट जन्माउने स्रोत जस्तो लाग्न थालेको लक्ष्मण बताउँछन् । यही कारण होला उनलाई आफ्नो जीवन कमाएर नभए पनि रमाएर बितेको छ जस्तो लाग्ने ।

खान उधारो, बस्न उधारो यहाँसम्म कि रङ्ग, क्यानभास, ब्रसहरु पनि उधारो नै चलाइरहेका छन् उनले । यही कारणले पनि होला उनका चित्रहरु सजीव छन् । पीडाको स्वरुप हुने भए ठ्याक्कै यही चित्रहरुझैं देखिने थियो शायद ।

कलामार्फत् क्रान्ति 

एउटा चित्रले हजार शब्द बोल्छ भनेझैं उनका चित्रमा प्रयोग गरिएका प्रत्येक रङ्गले छुट्टा छुट्टै भाषा बोल्छन् । समाजका विकृति, विसङ्गतिलाई प्रतिबिम्बित गर्छन् । 

लक्ष्मणको उद्देश्य पनि यही छ, आफ्नो कलामार्फत् समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, सुस्ताएको सरकारलाई झकझकाउने, आम नेपाली युवाहरुको आवाज बन्ने ।

जसलाई मूर्तरुप दिन उनले एउटा ‘मूभ्मेन्ट’ नै शुरु गरेका छन् । ‘म्यूरल आर्ट’ अर्थात् शहरका भित्तामा कोरिने चित्र हुन् उनका हतियार । जस अन्तर्गत १२ वटा म्यूरल आर्ट बनिसकेको छ । 

अहिलेसम्म बनेका चित्रहरुमा समाजको समसामयिक समस्या र परिवेशलाई उतारिएको छ । सन् २०२२ सम्ममा राजधानीका विभिन्न स्थानमा यसैगरी १०१ वटा भित्ता रङ्ग्याउने उनको योजना छ । 

लक्ष्मणले यस ‘अभियान’ का अतिरिक्त पनि शहरका अन्य निर्जीव भित्ताहरुमा रङ्गमार्फत् ‘सास’ भरिदिएका छन् । भित्तामा बनाइएका ती चित्रहरुमा फगत रङ्ग मात्र होइन, आम नेपाली जनताको समस्या र चुनौतीहरु पनि मिसिएको अनुभव गर्न सकिन्छ ।

यसको एक उदाहरण हो, वीर अस्पताल हुँदै भोटाहिटीतर्फ जाने बाटोको भित्तामा उनले बनाएको एक चित्र । त्यहाँ आउजाउ गर्ने हरेकको ध्यानाकर्षण गर्छ यस चित्रले किनकी यहाँ सरकारलाई ‘डेड’ अर्थात् मृत भनिएको छ । चित्र कलात्मक छ र प्रतीकात्मक पनि । 

यस्तै यस्तै वाल पेन्टिङहरुले राजधानी सजाएर काठमाडौंलाई ‘आर्टिस्टिक शहर’ बनाउने उनको योजना छ । 

हरेक चित्रकारले आफ्नो चित्रमा कुनै न कुनै चिनारी छोडेको हुन्छ भनेझैं लक्ष्मणले आफ्ना ‘वाल पेन्टिङ’मा ‘खोज’ शब्द लेखेका हुन्छन् । यसको अर्थ के हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो शान्तिको खोज हो, विकासको खोज हो, न्यायको खोज हो, समाजमा जे छैन त्यसको खोज हो ।’ 

..........

कलालाई मन पराउने त धेरै छन् तर, माया गर्ने निकै कम । तिनै कम सङ्ख्यामा पनि कलाकै लागि सबैथोक त्याग्ने, जीवन नै यसैलाई मान्ने अझै कम व्यक्तिको सूचीमा पर्ने लक्ष्मण श्रेष्ठको जीवन साँच्चै नै प्रेरणादायी छ ।   


 

Leave a comment