काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा शुरु गरेको छ ।
बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको शुुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैंयासम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने छ ।
एन बैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
विनय कुमार रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत – एनबैंक र अपरेसन्स्, भन्छन्, “एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।“ अनलाइन बैंकिङ सेवा शुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नु हुनेछ ।
उनले थपे, “हाल नबिल नेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले कर्पोरेट पे मा दर्ता गर्नुपर्नेछ ।“ एन बैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, एन रेमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंकवेब मार्फत पहुँच गर्न सकिने छ । एनबैंकको वेबको सुविधा यो लिङ्क मार्फत https://nbank.nabilbank.com लिन सकिनेछ ।
एनबैंक वेबले उच्च स्तरको सुरक्षा समावेश गरेको बताउँदै डिसीईओ रेग्मीले भने, “एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो ईन्क्रिप्शन, दुई–कारक प्रमाणीकरण, स्वतः लगआउट सुविधा, र सिम प्रमाणिकरण लगायतका बलियो उपायहरू मार्फत उच्च स्तरको सुरक्षा प्रस्तुत गरेका छौं ।“
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । देशभरी २५५ शाखाहरू र २८३ एटिएमहरू सहित, बैंकले ग्राहकको सन्तुष्टि र सेवामा उत्कृष्टताप्रति प्रतिबद्धतालाई सुदृढ गर्दै आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । आफ्नो डिजिटल फुटप्रिन्टलाई थप विस्तार गर्न र डिजिटल बैंकिङतर्फ विश्वव्यापी परिवर्तनसँग पङ्क्तिबद्ध गर्न, नबिल बैंकले बैंक भित्र भर्चुअल शाखा एन बैंक स्थापना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया