दोस्रो नर्स एथलेटिक्समा हीराचन, श्रेष्ठ र यादव विजयी

काठमाडौं । दोस्रो नर्स एथलेटिक्समा नेपाल प्रहरी अस्पतालकी खुशी हीराचन, न्यूरोड अस्पतालकी मुना श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव आ–आफ्नो विधामा विजयी भएका छन् । 

डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले  हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आयोजना गरेको तीन किमी सडक दौड तथा एक सय मिटर र दुई सय मिटर दौडमा क्रमश ः हीराचन, श्रेष्ठ र यादव प्रथम भएको फाउण्डेशनका महासचिव रजत पदक श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताअन्तर्गत चार सय मिटर रिले दौडको उपाधि भने नेपाल प्रहरी अस्पताल समूहले जितेको छ । प्रतियोगितामा उपत्यकाभित्रका २७ वटा अस्पतालका २ सय ५ जना नर्सको सहभागिता रहेको थियो । 

‘अनुशासनका लागि खेल, स्वास्थ्यका लागि खेल र सबैका लागि खेल’ भन्ने नारा दिइएको उक्त प्रतियोगिताको मुख्य उद्देश्य नर्सको मनोबल उच्च बनाइ बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?