सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित

कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । 

वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयवासी उत्तरदेव भट्टले बताए । 

दुई दिनअघिदेखि सडक कालोपत्रको माग अघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ, उनले भने ।  “भोलिसम्म पनि सडक स्तरोन्नतिको कार्य अगाडि नबढाइए अनिश्चितकालसम्मका लागि चक्काजाम हुन्छ ।” 

सडकको अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्रसहित जानकारी दिइएको उनले भने । 
स्थानीयवासीले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न १ सय ५० बढी चर्को भाडा तिर्नुपरेको छ । 

हिउँदका बेला सञ्चालन हुने सडक वर्षात्का बेला हिलाम्मे हुँदा स्थानीय यात्रुले पैदलै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । सडक निर्माणकार्य एक वर्षदेखि ठप्प छ । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमनराज जोशीले बजेट अभावले सडक निर्माणकार्य अगाडि बढ्न नसकेको बताए । 

सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । 

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले  चार करोड ४४ लाख भुक्तानी लिइ सकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?