प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छः अर्थमन्त्री डा. महत

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘हामी कुन क्षेत्रमा प्रतिस्पर्धी हुनसक्छौं, कुनमा सक्दैनौं, त्यसको निक्र्योल सरकारले मात्र होइन, निजी क्षेत्रले पनि गर्नुपर्छ ।’

‘चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ । साथै सरकार निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उनले बताए ।

सीएनआईले बजेट वाच भनेर एउटा पुस्तक प्रकाशित गरेको छ, बजेटमा के के कुरा छन्, यसको कार्यान्वयनका लागि के गर्नुपर्छ । यो हामी सबैका लागि उपयोगी हुने बताउँदै मन्त्री डा. महतले भने, ‘नेपालमा सबैभन्दा ठूलो समस्या कार्यान्वयन हो । हामी धेरै कुरा भन्छौं, कार्यान्वयन गर्दैनौं, जसले गर्दा परिणाम आउँदैन । वर्तमान सरकार कार्यान्वयनमा केन्द्रित भएको छ ।’

सम्पूर्ण मन्त्रालयका सचिवहरुलाई प्रस्ताव गरिएको हरेक कामको कार्यतालिका छ, त्यो अनुसार कार्यान्वयन हुनैपर्छ भनेको छु । यसमा ढिलो गर्नेको कुनै गुन्जायस छैन, प्रधानमन्त्रीले पनि त्यही किसिमको निर्देशन दिएको मन्त्री डा. महतले सम्बोधनका क्रममा भने ।

‘सीएनआईले विभिन्न विषय उठान गरेको छ । खास गरी नेपाली उद्योगहरुलाई कम्तीमा एक तहको संरक्षण दिने उद्देश्य छ । कतिपय ठाउँमा दुई तहको संरक्षण पनि छ । यसले नेपाली उद्योगलाई केही न केही राहत पुग्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने, ‘यो प्रतिस्पर्धी विश्व हो, संरक्षणको छाताभित्र बसेर हामी अगाडि बढ्न सक्दैनौं । तर एक तहको सुरक्षा अनुभूति हामीले दिनुपर्छ, त्यो हामीले दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?