गगन थापाको ट्वीट, ‘नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । 

आइतवार ट्वीट गर्दै थापाले लेखेका छन्, ‘नेविसंघको नाममा केही ‘‘विद्यार्थीले’’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ, किन्तु, परन्तु केही नलगाई मेरो उत्तर, त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु ।’

सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शनिवार सरकारी गाडीहरुमा आगजनी र तोडफोड गरेका थिए 

नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिवार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए । त्यस्तै काठमाडौंबाट सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए भने सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघले नियन्त्रणमा लिएका थिए ।

सार्वजनिक बिदाका दिन सरकारी कर्मचारीहरुले सम्बन्धित कार्यालयबाट पार लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?