नुवाकोट । जिल्लाको सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहीबार १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षका लागि पालिकाले नविन योजनाहरुका साथ अघि बढ्ने संकल्प गरेको सूर्यगढी–४ का वडाध्यक्ष एवं प्रवक्ता रामशरण राईले लोकपथलाई जानकारी दिए ।
पालिकाको आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायत जनजीविकाको सवालमा काम गर्ने बताए । त्यस्तै किसानहरुका लागि थप प्रोत्साहन हुने किसिमका योजनाहरु ल्याइएको उनले बताए । त्यस्तै पालिकाले आगामी आर्थिक वर्षदेखि ५५ देखि ६८ वर्ष उमेर समूहका एक पुरुषहरुलाई भत्ताको समेत व्यवस्था गरेको छ ।
पालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई बजेट मार्फत् कार्यान्वयन गरिने विश्वास लिएको उनले बताए ।
त्यस्तै आइतबार गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले आव ०८०÷८१ को लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।
पालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष घलेले बताए । सूर्यगढी गाउँपालिकाको आव ०८०/८१ को विनियोजन विधेयक र आर्थिक विधेयक उपाध्यक्षले प्रस्तुत गरेकी थिइन् ।
संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ७ करोड ५६ लाख, संघीय ससर्त अनुदान चालुतर्फ १५ करोड ७४ लाख, पुँजीगततर्फ ५५ लाख, विशेष अनुदानतर्फ १ करोड २० लाख, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडफाँडबाट प्राप्त ६ करोड ४९ लाख ८४ हजार ६ सय प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ६९ लाख ५० हजार, ससर्त अनुदान चालुतर्फ १ करोड ३२ लाख १० हजार, ससर्त अनुदान पुँजीगततर्फ ४५ लाख, राजस्व बाँडफाँडतर्फ १ करोड १० लाख २ हजार ८ सय ४९, समपुरक अनुदानतर्फ २ करोड प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ ४० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान बजेटमा छ ।
आर्थिक विकासअन्तर्गत कृषि तथा पशुपंक्षी, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्रमा ९० लाख विनियोजन गरिएको छ । सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलगायतमा ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
र्वाधार विकासमा १५ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गततर्फ ३५ लाख, महिलाहरु लाभान्वित हुने ‘महिलासँग उपाध्यक्ष कार्यक्रम’अन्तर्गत प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याएको छ ।
संस्थागत विकास तथा सेवा प्रवाहअन्तर्गत १४ करोड ४७ हजार ४ सय ४९ रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहले यही असार १० गतेसम्ममा आगामी नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया