उपचारको क्रममा बालकको मृत्यु, मृतकका आफन्तद्वारा अस्पताल तोडफोड

झापा। उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ । 

पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

 तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै गएराति आफन्तले अस्पतालमा ढुंगामुढा गर्दै तोडफोड गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षमा समेत क्षति पुगेको छ भने अस्पतालका झ्याल, ढोका र आकस्मिक कक्षका मोनिटर तोडफोड भएको छ ।

बालकको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयले अस्पतालका चिकित्सक र कर्मचारीलाई समेत हातपात गर्न खोजेका थिए । अस्पतालमा परिसरमा ठूलो  प्रहरी परिचालन गरिएको थियो ।आक्रोसित भीड नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

अस्पताल प्रशासन, पीडित पक्ष र जनप्रतिनिधिबीच गएराति भएको छलफलसमेत निष्कर्षमा पुगेको छैन । तीनै पक्षबीच आज पनि छलफल हुने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?