गत चैतको अन्त्यमा घर जाँदा खेतमा मकै लगाउने बेला भएको थियो । गाउँमा मकैको बिउको हाहाकार सुनिनसक्नुको थियो । सबैभन्दा राम्रो फल्ने भनिएको सिपी मकैको बिउ कालो बजारमा प्रतिकिलो हजारका दरले बिकिरहेको थियो ।
व्यापारीहरूसँग मकैको बिउ थियो कि थिएन थाहा छैन तर किसानले सहज रूपमा किन्न पाएनन् । विनर नाम गरिएको मकै प्रतिकिलो चार सयभन्दा बढीमा बिक्री भयो । जब कि किसानको घरमा भएको मकै प्रतिकिलो पचासमा पनि नबिकेर घुनले खाइरहेको छ । बजारमा त्यसरी महङ्गो रुपैयाँ तिरेर किनेको बिउले एक पटकभन्दा बढी काम गर्दैन । अर्को पटक त्यही मकै लगायो भने फल्दैन । ती बिउहरू सबै भारतबाट आएका हुन् ।
मकैको बिउ जेनतेन व्यवस्था गरेर खेतमा लगाइसकेपछि मलको चिन्ताले सताउन थाल्यो । त्यो सताउनेमध्ये म पनि एक हुँ । गाउँको सहकारीले मल ल्याएर आफ्ना मान्छेलाई बोराका बोरा बाँड्छ । मल दिन पनि भोट हाल्ने र नहाल्नेमा भेदभाव हुनेगर्छ । भोट हाल्नेको घरमा बोरा पु-याइन्छ । आम सर्वसाधारणका लागि पाँच किलो चार किलो बाँडिन्छ ।
त्यसमा पनि कति सहकारीले अनेक सर्तहरू तेस्र्याएका हुन्छन् । बल्ल बल्ल रोइकराइ गरेर तीन चार पाथी मल जम्मा पारेर मकैमा हालेपछि अर्को चिन्ताले सताउन थाल्यो– खडेरी । अन्ततः खडेरीले सबै मकै खेतैमा सुकाइदियो । मल, बिउ र खनजोत गर्न लागेको खर्च त्यसै खेर गयो । त्यसको क्षतिपूर्ति न स्थानीय सरकारले दियो न कोही सोधखोज गर्न आयो । आज पनि सुकेका मकै खेतमै रोइरहेका छन् ।
असारको पहिलो साता धानको बिउ राख्ने बेला भयो । धानको बिउ त्यसैगरी बजारमा खोज्न जानुपर्ने भयो । प्रतिकिलो पाँच सयदेखि छ सयसम्ममा धानको बिउ बिकिरहेको छ बजारमा । भकारीमा पोहोरको धान थन्किएर बसिरहेको छ । त्यो धानको बिउ खेतमा लगाउँदा एक दाना पनि फल्दैन । पिएसी, विनर, च्याम्पियन,राधा केके हो केके नाम प्रायः सबै भारतबाट आएका हुन् । जेनतेन बिउ उम्रियो तर ब्याडमै मर्न थाल्यो । गाउँको एक जना भाइ ब्याडमा बिउ म¥यो भनेर बजार धाइरहेको थियो । उसको ब्याडको बिउ के भयो थाहा भएन ।
गाउँमा खेत रोप्ने बेला आउँदै छ । तर अर्मपर्म चल्न कम भएको छ । खासमा काम गर्ने मानिस गाउँमा छैनन् । काम गर्ने मानिस कि सहर पसेका छन् कि विदेश पलायन भएका छन् । अलि अलि बसेका मानिसको पनि निमेक महङ्गिएर खेताला लगाउन सकिने अवस्था छैन । निमेकको भरमा मात्रै खेती गर्ने हो भने ऋणमाथि ऋण थपिँदै जान्छ । गाउँमा अहिले गोरु पाइन छोडेको छ । हजारौँ वर्षसम्म हाम्रो कृषिकर्मको महत्त्वपूर्ण हिस्सेदार बनेको गोरुलाई पन्छाएर हामीले हाते ट्याक्टर ल्यायौँ । तर त्यो पनि हाम्रो उत्पादन होइन । बिग्रियो भने बनाउने मानिसको अभाव छ । एकदुई वर्ष चलेपछि कबाडी उठाउनेलाई किलोको भाउमा बेच्नुपर्छ ।
जेनतेन खेत रोपेपछि फेरि डिएपी र युरिया मलको अभावले किसानको निद्रा बिथोल्न थाल्दछ । गोडेर धान पोटाउने बेलासम्म पनि पर्याप्त मल पाइँदैन । मलको अभावमा उत्पादन घट्न गई घाटा लाग्छ ।
केही हप्ताअघि बनेपा र चितवनका किसानले लागत मूल्य पनि नपाएको भन्दै सडकैमै गोलभेँडा फ्याँके । कतिले कालीमाटीसम्म ल्याएर फ्याँके । बजारमा भारतीय गोलभेँडाको बिगबिगी थियो । किसानका यस्तो दुःख अनगिन्ती छन् । मल अर्काको देशबाट आउँछ । बिउ अर्काको देशबाट आउँछ । अझ कतिपय ठाउँमा त कृषिकामदार पनि अन्यत्रैबाट आउन थालेका छन् । सिँचाइ नभएर आकाशे खेतीमा निर्भर हुनु परेको छ । यति सकस गरेर बल्लबल्ल उत्पादन गरेको कृषिजन्य वस्तु बजार नपाएरै सडकमा फ्याँकिन्छ । किसानका यस खाले समस्या भनिनसक्नुको छ । अझ बाँदरले सताएर बसाइँ सरेकाहरूको दर्दनाक पीडाको त यहाँ चर्चै भएको छैन ।
गत चैतमा गाउँको बन्दगोभी चार रुपैयाँ किलोमा नबिकेर किसान छट्पटिरहेका बेला हामी काठमाडौँमा पच्चिस रुपैयाँ प्रतिकिलोमा किनेर खाइरहेका थियौँ । बिचको एक्काइस रुपैयाँ कसले खायो ! दुई रुपैयाँ भाडा र दुई रुपैया व्यापारीलाई कमिसन दिए पनि उपभोक्ताले त दश रुपैयाँसम्म पाउनुपर्ने हैन र ! तर पाइँदैन । गाउँमा बसेर उत्पादन गर्नभन्दा सहरमा बसेर दलाली गर्दा बढी मुनाफा आउने भएपछि गाउँका मानिस सहरमा भित्रिएका छन् र कृषिजन्य वस्तुको दलाली गरेर उपभोक्तालाई महङ्गोमा खान बाध्य पारिहरेका छन् । दुःख नगरी सहरमै बसेर बढी मुनाफा कमाउन पाएपछि गाउँमा बसेर उत्पादन किन गर्ने !
वास्तविक किसानका व्यथालाई न सरकारले सम्बोधन गर्न सकेको छ न नीति निर्माताका विवेकमा वास्तविक किसान अटाएका छन् । भारतबाट एक वर्ष बिउ रोकियो भने हाम्रो खेतबारी बाँझै बस्छन् । मल नआउँदा उत्पादन घटेर केही फरक नपर्ला तर बिउ आएन भने के हुन्छ ! हाम्रा रैथाने बिउ सबै हराइसकेका छन् । बढ्दो सहरीकरण र युवाहरू विदेश पलायन भइदिनाले गाउँका पाखाबारी मात्रै होइन गैरीखेत पनि बाँझै बस्न थालेको छ । सरकारमा बसेकाहरू रेमिट्यान्स गनेर बसिरहेका छन् । यस्तो विकराल अवस्थाका बिचमा धान दिवसका नाममा सुकिला मुकिला लुगा लगाएर हिलो खेलेको घटनाले गाउँका किसानको खिल्ली उडाएको छ ।
हजारौँ वर्षदेखि गरिँदै आएको पेसा र जीविकोपार्जनको आधारलाई किन यसरी भद्दा मजाकको विषय बनाउनु परेको हो थाहा छैन । हिलोमा जान त के घरको सिँढी पनि राम्रोसँग उक्लन नसक्ने मानिसलाई बुट जुत्ता लगाएर दुई जनाले कम्मरमा समातेर हिलोमा पु¥याएको दृश्यजस्तो भद्दा मजाक किसानका नाममा अरू के होला !
जोजो मानिस सामाजिक सञ्जालमा भाइरल हुन हिलोमा देखिए, तिनले कति खेती किसानी गरेका होलान् १ तिनले गरेको उत्पादनले तिनको परिवारलाई आत्मनिर्भर बनाएको छ कि छैन होला १ नयाँ किनेको गुन्यु र चोली अनि सेतो पटुकी बाँधेको मान्छे हिलोमा पसेको देख्दा लाग्यो कुने फिल्म सुटिङ गर्न कलाकारहरू हिलोमा गएका छन् । यस्तो भद्दा मजाक कहिले गमलामा धान रोपेर गरिन्छ भने कहिले महिलाहरूको प्रतिष्ठामा आँच आउने गरी वितण्डा मच्चाएर गरिन्छ । कोही हिलोमा नाचिरहेका छन् । कोही हिलो छ्यापाछ्याप गरिरहेका छन् । यस्तो लाग्छ कृषिका नाममा ठट्टा चलिरहेको छ । असारको हिलोमा लडीबुडी गर्नु किसानको रहर हो कि बाध्यता हो १ यो कुरा सहरमा चाटुकारिता गरेका मानिसले बुझेका छन् कि छैनन् होला !
किसानलाई प्रोत्साहन गर्न त मल आवश्यक भएका बेला मल उपलब्ध हुनुपर्ने हो । बिउ आवश्यक भएका बेला बिउ उपलब्ध गराउने हो । उत्पादन भएको कृषि उपजलाई बजारको व्यवस्थापन गर्न सघाउन पर्ने हो । तर सहरमा बसेका मानिसहरू त्यसबारे चुँसम्म बोल्दैनन् । असारमा पानी राम्रोसँग परेन भने धेरैका खेत रोपिँदैन । सिँचाइको उचित प्रबन्ध छैन । अनि एक दिन हिलोमा नाचेर कृषिलाई प्रोत्साहन गरेको कसरी ठहरिएला !
कृषि मानिसको बाँच्ने आधार हो । यदि कृषिको विकास भएको थिएन भने आज के खाएर बाँच्दो हो मानिस । मानिसको सभ्यता कसरी अघि बढ्दो हो । भोको पेटले मानिस कुनै प्रगति गर्न सक्दैन । यतिसम्म कि प्रगतिको कुरा सोच्न पनि सक्दैन ।
यो भूमिमा हजारौँ वर्षदेखि मानिसहरूले कृषिलाई नै जीविकोपार्जनको माध्यम बनाउँदै आएका थिए । पहाडका बेसीमा नदी र खोलाले बनाएका सम्म फाँट तथा टार होस् या भिरालो परेको जमिनमा बग्ने पानी लगाएर खेती गर्ने जग्गा होस् मानिसको जीवन चलाउने आधार थिए । तराईको समथर भूमिको त कुरै गर्नु परेन । भूमिमाथि कर लगाउने शासक फेरिए पनि वा समय समयमा राजनीतिक सीमाना हेरफेर भए पनि भूमिले मानिसको जीवन चलाउन सहयोग गर्न कहिल्यै छोडेन ।
त्यसो त माटो र पानी भएपछि संसारको कुनै पनि स्थानमा केही पनि नफल्ने भन्ने नै हुँदैन । यत्ति हो कि कुनै कृषि उपज कुनै हावापानीमा फलेको हुन्छ भने कुनै कृषि उपज कुनै हावापानीमा फलेको हुन्छ । जे जहाँ जसरी फले पनि त्यसले मानिसको जीवनलाई धानेकै थियो । हजारौँ वर्षदेखि मानिसको जीवनको आधार बनेको धानखेती कमजोर बनाएर धान दिवस मनाउने र त्यसमा अस्वाभाविक मजाक गर्ने परिपाटीले हाम्रो कृषि सभ्यतालाई कति गिज्याउँदो हो !
समय समयमा अनाजका बिउहरू परिवर्तन भइरहेका हुन्छन् । कृषियुगको थालनीमा भएको अनाज आज छैन । पौराणिक कालमा भएको धान आज खोजेर पनि पाइँदैन । एउटा भूगोलमा फलेको अन्नलाई अर्को भूगोलमा पनि लगेर फैलाइन्छ । यो त समयक्रमसँग हुने विकासको कुरा हो । तिस वर्षअघि पाइएको धान अब पाइँदैन । मकै र गहुँ पनि त्यस्तै हो । कति नयाँ अनाज भित्रिरहेका हुन्छन् भने कति अनाज हराइरहेका हुन्छन् । तर पनि धान, मकै, गहुँजस्ता अनाज हजारौँ वर्षदेखि जीवनको आधार बन्दै आएका छन् । कोदो अब बिस्तारै हाम्रो समाजबाट विस्थापित हुने चरणमा पुगेको देखिँदै छ । त्यसको अस्तित्वका बारेमा अहिले नै केही भन्न सकिँदैन ।
जौलाई मानिसले अनाजको रूपमा प्रयोग गर्न छोडेको अहिलेको पुस्तालाई थाहा नहुन सक्छ । कागुनो र फापरको उत्पादनमा पनि कमी आएको पक्कै छ । यसका बाबजुत आफ्नो राजनीतिक सीमानालाई मजबुत बनाउन र भविष्यमा आउन सक्ने संकट टार्न पनि देशको कृषि प्रणलीलाई चाहिने बिउ त राज्यभित्र आफैँ उत्पादन गर्नुपर्ने हैन र !
सहरमा कृषिकार्य कमै हुन्छ । यो हाम्रो मात्रै अभ्यास होइन संसारकै प्रक्रिया हो । ठुला सहरमा अन्न फल्दैन । सहरलाई जहिल्यै गाउँको कृषि प्रणलीले बचाएको हुन्छ । तरकारी, फलफूल, दुधदहीदेखि भान्सामा प्रत्येक दिन आवश्यक पर्ने धान, गहुँ, मकै, कोदो, फपरजन्य खाद्यपदार्थ गाउँबाटै आउँछ । सहरका मानिसको चुलो मात्रै होइन सहरमा बस्ने धेरै मानिसको व्यवसाय पनि यसैबाट चलेको हुन्छ । त्यसको बदलामा सहरले गाउँलाई के दिन्छ रु गाउँको गाँस, बास र कपासको न्युनतम आवश्यकता सहरले कहिल्यै पूर्ति गर्न सक्दैन । तर पनि गाउँले सहरलाई पाल्न छोड्दैन । त्यसैले गाउँमा बसेर किसानी गर्ने कृषकहरू सहरबासीका अन्नदाता हुन् ।
सहरका मानिसको पेट भरेर प्राण बचाइदिने प्राणदाता हुन् । गाउँका मानिसले अन्न फलाउन छाडे भने सहर बस्ने मानिस भोकभोकै मर्छन् । न तिनको भान्सामा अन्न पाक्छ न फ्रिजमा फलफूल र दहीदुध हुन्छ । अनि धान दिवसका दिन किसानका समस्या समाधान गर्ने प्रण गर्नुको साटो हिलो खेलेर भद्दा मजाक गर्नु कति बुद्धिमानी होला । सहरका अन्नदाता र प्राणदाता किसानका दुःखलाई मजाकमा उडाउनु कति आवश्यक होला । धान दिवसका नाममा वर्षको एक पटक हिलोमा गएर तमासा देखाउनेहरूको क्रियाकलापले वास्तविक किसानको मजाक उडाएको छ जुन असाध्यै दुःखको कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया