काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ले छिटै नेपाल क्रिकेट परिषद् ‘क्यान’माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन्।
खेलकुद मन्त्री विश्वकर्माले साक्षात्कार कार्यक्रममा बोल्दै ‘आइसिसी’ले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीयतदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको समेत दावी गरे ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको ‘क्यान’ विवादले उग्ररुप लिएपछि आइसिसीले वि.सं २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइ सकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने खेलकुद मन्त्री विश्वकर्माले जानकारी दिए ।
त्यस्तै उनले आइसीसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्रदान गर्न बताए । निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो ।
आइसीसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीनश्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलब समेत रोकेको थियो ।
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।
नेपालमा बन्दै गएको सकारात्मकवातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न उनले आइसिसीलाई आग्रह पनि गरे । सोमवार बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
त्यस्तै उनले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्धता व्यक्त गरे । साथै खेलकुदमन्त्री विश्वकर्माले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने समेत बताए ।
क्रिकटकै प्रसंगमा उनले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफू मन्त्री हुँनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए ।
‘जग्गाविवाद समाधानको प्रस्तावमन्त्रीपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छु, अर्थले प्रस्ताव स्विकार गर्नासाथ टेण्डर आव्हान गर्छौँ ।” उनले भने ।
उनले थपे, ‘धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन लागेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणमा अरु संस्थाहरु पनि लागि पर्न आग्रह गर्छु, खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वयआवश्यक छ ।’
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सरकार आफैले पनि रंगशाला बनाउने भन्दै उनले भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । त्यसैगरी सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सरकारको लक्ष्यअनुसार काम भइरहेको पनि बताए ।
हरेक स्थानीयतहमा खेलग्राम बनाउने योजनासमेत सरकारसँग रहेको खेलकुदमन्त्री विश्वकर्माले जानकारी दिए । त्यसकालागि स्थानीयतहले ३० प्रतिशत र संघीय सरकारले ७० प्रतिशत बजेट उपलब्ध गराउने छ ।
नेपाली क्रिकेट खेलाडीले प्राप्त गरेको सफलतलाई सरकारले सदुपयोग गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमामन्त्रीविश्वकर्माले वर्तमान सरकार देशको विकास र समृद्धिसँगै खेल क्षेत्रको विकासका लागि पनि प्रतिवद्ध भएको दावी गरे ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै खेलकूद क्षेत्रको विकासका लागि सक्रिय भएको दावी गर्दै उनले आगामी सेप्टेम्रबमा हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ सम्पन्न गर्नका लागि सरकारले तिब्रताका साथ तयारी अगाडी बढाइरहेको बताए ।
यसअघिका सरकारले १३ औँ सागको तयारीमा वेवास्ता गरेकाकारण अहिले समस्या उत्पन्न भएको तर्क गर्दै उनले चुनौतिको सामना गर्न आफू सक्षम रहेको बताए ।
‘१३औँ सागपहिलो प्राथमिकतामा छ, कार्ययोजना बनाएर काम गरिरहेका छौँ, पूर्वाधार बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ, तर, पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ ।” उनले बताए ।
सागको तयारी स्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘भिआइपी’ प्यारापिटको छाना हाल्न मात्रै बाँकी रहेको उनले बताए । त्यसैगरी सातदोबाटो र पोखराको रंगशाला मर्मतको कामपनि अघि बढेको जानकारी दिए ।
साग अगाडि नै गर्ने भनिएको आठौँ राष्ट्रिय खेकलकूद प्रतियोगिताको तयारी भइरहेको भन्दै खेलकुदमन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको बताए ।
सरकारले चालु आर्थिक वर्षमा आठौँ राष्ट्रिय खेलकुद, १८ औँ एशियाली खेलकुद र १३ औँ दक्षिण एशियाली खेलकुदको तयारी एवम् पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया