…त्यो यात्रा–२

भानु दाहाल –

जहाजको सिट नम्बर सेभेन्टिन ‘सि’ र ‘डि’ । विमानको ओभरहेड लकर्समा ह्याण्ड क्यारी थन्काएर थचक्क सिटमा बस्यौँ । झ्यालतिरको सिट उनको रोजाईमा पर्यो  । मन त मलाई पनि उही सिटमा थियो । 

भारत, बंगलादेश, म्यानमारको आकाश हुदैँ उडान हुने भएकोले मौसम सफा भए ति देशको कम्तिमा एरियल भ्यु भएपनि पाईथ्यो भन्ने लोभ मनमा थियो । तर त्यो रहरलाई त्यहि थाती राखेर उनकै रोजाई अनुसार सिट छोडिदिएँ । 

अगाडी एयरहोस्टे«सको सिट वेल्ट बाध्ने तरिका देखी विमानमा कुनै आपतकालिन अवस्था आएमा कसरी विमानबाट बाहिर निस्कने भन्ने सम्मको डेमोस्टे«सन चल्दै थियो । हामी आ–आफ्नो सिट वेल्ट बाँधेर आरामसँग सिटमा बस्यौँ । 

विमान धावनमार्ग छोड्ने लगभग अन्तिम तयारीमा थियो । झण्डै तिन सय यात्रु बोकेर उडान भर्न लागेको विशाल विमानमा यात्रुहरुको व्यवस्थापनमा दश जना परिचारक र परिचारिकाहरु यताउता दौडधुप गरिहेका थिए ।

जहाजको क्याप्टेनले टेक–अफ गर्न लागेको अनाउन्स गरे सँगै विमानले जमिन छोड्यो । त्यतिवेला उनलाई डर लागेर होला मेरो देब्रे हात च्याप्प समातिन् । 

उनलाई सामान्य बनाउने ध्येयले मैले जिस्किदै भनेँ ‘अवको लगभग चार घण्टालाई तिम्रो जीन्दगी जहाजको कमाण्डरको हातमा छ । बरु जाउ उनलाई भेटेर अघि मलाई काउन्टरमा भनेझै– मेरो होटल बुकिङ छ, पे भईसकेको छ, म जसरी पनि आज नपुगी हुन्न भनेर आउ ।’ 

‘ह्या ! जेपीटि..।’ उनले मेरो त्यहि हातमा चिमोट्दै आँखा तरिन् ।  

***       

विश्वमा हवाईजहाज यात्रालाई उनान्नसय प्रतिशत सुरक्षित मानिन्छ । तर यात्रुको मनमा ढुक्कको यात्रा चाँही जम्मा एक प्रतिशत मात्र हुन्छ होला । हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा हवाई यात्रा जोखिमपुर्ण नै छ । निरन्तर भईरहने ठुला साना जहाज दुर्घटनाको कारण नेपाली आकाश कालो सुचीमा परेको पनि धेरै भईसक्यो ।

 

बंगलादेशबाट आएको जहाज धावन मार्गमा नै दुर्घटना भएको धेरै समय वितेको थिएन । यस्तो वेला त्यहिँबाट यात्रा गर्ने जो कोहीलाई त्यो वेलाको हृदयविदार दृश्यहरुको सम्झनाले मनमा चिसो नपस्ने कुरै भएन । कतै उनको दिमागमा पनि त्यहि दृश्यहरु घुमिरहेका पो थिए कि ! मेरो मनमा यस्तै कुरा खेलिरहेको भएपनि उनको अगाडी भने निर्धक्क भएझै गरिरहेकै थिएँ । जहाजले एक फन्का मारेर उपत्यका छोडिसकेको थियो ।  

‘हेर्नु न ! मेरो ईयरफोनमा त साउण्ड नै आएन’ कानबाट ईयरफोन निकाल्दै उनले भनिन् ।
एयरहोस्टेसले सिटको अगाडी रहेको स्क्रिनमा आफुलाई मन लागेको भिडियो, फिल्म हेर्नको लागी प्रत्येकलाई एकएक वटा ईयरफोन उपलब्ध गराएकी थिईन् । उनको चाँही बिग्रिएको परेछ । अर्को मागिदिनु प¥यो भनेर यताउती टाउको घुमाएँ, नजिकै कोही देखा परेनन् । मैले मेरै ईयरफोन उनलाई दिएँ । उनी दुबै कानमा घुसारेर स्क्रिनमा स्क्रोल गर्न व्यस्त भईन् । 

‘अनि तिमी स्क्रिनमा फिल्म हेरेर बस्ने भए झ्यालको सिट नै किन चाहिएको त ?’ मैले जिस्काउँदै सोधेँ । 

तर उनले जिस्काएको भन्दा पनि अघि मैले झ्यालको सिट छोडेको बदलामा डाइलग हानेको बुझिछन् क्यारे ईयरफोन निकालेर म तिरै फाल्दिदै भनिन्– ‘ह्या ! त्यसो भए म फिल्म नै हेर्दिन ।’

‘नो, नो जस्ट किडिङ् ।’ मैले फकाउन खोजेँ । 

 

उनी नबोली झ्यालबाट बाहिरको निलो आकाश हेरेर बसिरहिन् । उनी साँच्चै रिसाएको थिईन् कि रिसाए जस्तो गरिरहेकी थिईन् मैले भेउ नै पाईन । रिसाउनु नै पर्ने कुरा त थिएन । कसैको स–साना कुरामा पनि रिसाईहाल्ने बानी हुन्छ । कतै उनको पनि त्यस्तै थियो कि ! संगत भएको कति नै घण्टा वितेको थियो र !  

 

मलाई रिसाएको मान्छे फकाउँन फिटिक्कै आउँदैन । अव के भनेर फकाउने होला भनेर सोच्दै थिएँ, यात्रा गरिरहेको भएर होला फ्याट्ट दिमागमा लगभग एक दशक अघिको एउटा बस यात्राको सम्झना आयो । उनलाई त्यो यात्राको कहानी सुनाउनु पर्यो भन्ने लाग्यो ।

‘सुन न..’ भनेर दुईचोटी भनेँ । मतिर फर्किदै फर्किनन् । फेरी भनेँ ‘बोलाको सुनेनौ ?  

‘आँखाले सुन्ने हो र ? कान त त्यतै छ नि, भने भैहाल्यो त ! के भन्न लाग्या हो ।’ उनले उतै फर्किएर भनिन् । मलाई थाहा थियो उता हेरेपनि ध्यान त मतिरै थियो । 
अव घुर्की लाउने पालो मेरो थियो ।  

‘ल ठिक छ, त्यसो भए म अगाडी दाईको सिटमा गएँ । एकजना दाई यहा आउनुहुन्छ ।’ मैले सिट बेल्ट खोल्दै उठ्न खोजे झैं गरेँ । 

हत्तपत्त मतिर फर्किदै मेरो हात समाउँदै आत्तिएझै गरेर भनिन् ‘नाई, नाई यहिँ बसिस्यो, सरी !’ म पनि हिड्न लाग्या त कहाँ थिएँ र ! छुस्स धम्कादिएको पो त । फेरी सिट बेल्ट बाधेँ । 

‘एक्स्क्युज् मि सर ! के लिनु हुन्छ ?’ ड्रिंसको ट्रलि लिएर एयरहोस्टे«स आईपुगिन् । ‘वियर’ मैले भनेँ । उनलाई सोधेँ ‘तिमी के लिन्छौ ?’ उनले पनि वियर नै भनिन् । दुईवटा क्यान वियर दिएर एयरहोस्ट्रेस गईन् । हामीले वियर खोलेर चियर्स ग¥यौँ । 

‘हाम्रो पहिलो पटकको चियर्स त्यो पनि अर्को देशको बादल माथी । कस्तो संयोग हगि !’ मैले माहोल रोमान्टिक बनाउन खोजेँ । 

‘हो नि । हजुर कस्तो भाग्यमानी, म सँग बादल माथी चियर्स गर्न पाईस्यो ।’ उनले आँखा झिम्काउँदै ठट्टा गरिन् । ‘हो, मेरो अहोभाग्य ! एयरलाईन्सको काउन्टरले मेरो यत्रो भाग्य जुराईदियो ।’ मैले पनि व्यंग्य कसेँ । 

***

जहाजले आफ्नै रफ्तारमा उडान भरिरहेको थियो । सायद हामी भित्र अंकुराउँदै गरेको प्रेमले पनि उडान भर्न खोज्दै थियो । मेरो छातीमा टाउको अड्याएर उनी लपक्कै टाँसिएकी थिईन् । मेरो देब्रे हात उनको देब्रे कुममा थियो । हामी चुपचाप थियौँ । वेलावेला आँखाहरु बोल्थे । धड्कनहरु बोल्थे । कहिले काँही मौनताहरु पनि कस्तो मिठो भएर आईदिन्छ । 

 

हामी नबोली–नबोली वियरको चुस्की मात्रै होईन आत्मियताको पनि चुस्की लिदै थियौँ । कस्तो अचम्म ! केहि घण्टा अघि सम्म अपरिचित हामी कसरी यति चाँडै आत्मिय भयौँ । हो, कहिले काँही झट्टै मनहरु वेपर्वाह मिलिदिन्छन् ।    

 

निक्कैबेरको मौनता तोड्दै उनले भनिन् ‘अघि के भन्न लाग्या भनिस्यो न ।’ ‘तिमी सँग एउटा संयोगले यसरी भेट भयो । अघि तिमीलाई सिट छोड्ने कुरामा यस्तै एउटा यात्राको पुरानो कहानी सम्झिएँ । त्यहि तिमी सँग शेयर गरौँ कि भन्ने लाग्या हो ।’ मैले उनको कपाल सुमसुमाउँदै भनेँ । 

‘वाउ ! सुनाईस्यो न ।’ आँखा चम्किलो पार्दै उनी सुन्न उत्सुक भईन् । 

 

तस्वीर गुगल 

‘झण्डै एक दशक अगाडी एकपटक म काठमाण्डौ फर्किन उदयपुरको कटारी बजारमा थिएँ । आधा दर्जन पहाडी जिल्ला घुमेर हिउँदको एक साँझ बास बस्न त्यँहा पुगेँ । 

 

झमक्कै साँझ परेको थियो । होटलमा झोला थन्काएर भोलीपल्ट विहानको टिकट लिन बसको काउन्टमा पुगेँ । त्यँहाको भिडभाडको अवस्था यस्तो थियो कि सिटको त के कुरा उभिएर जान पनि पार्ईएला जस्तो थिएन ।

 

मनमनै सोचेँ– उभिएर जानु छ भने यस्तो मारामार गरेर किन टिकट काट्नु, बरु विहान बस हिँड्ने बेला चढौँला । तर कटारी देखी काठमाण्डौ सम्मको लगभग बाह्र घण्टा लामो यात्रा उभिएरै जाउँला भन्ने मेरो अड्कल मुर्खतापुर्ण थियो । 

 

भोकले रन्थनिएको थिएँ । बरु पहिला पेट भर्नु प¥यो भनेर नजिकैको होटलमा छिरेँ । होटल पुरै भेजिटेरियन परेछ । समोसा तरकारी भन्दा गतिलो विकल्प खासै देखिएन । सँगैको टेवलमा ठुल्ठुलो स्वरमा दुई जना गफ गर्दै चिया पिईरहेका थिए । कुरा सुन्दै जाँदा त भोली काठमाण्डौ जाने बसको ड्राइभर र कण्डक्टर नै रहेछन् ।

 

यिनीहरु सँग कुरो मिलाएँ भने त बसको टिकट पाईन्छ भन्ने लाग्यो । वल्लै टेवलबाट भएपनि उनीहरुको गफमा मिसिएँ । चिनजान गरेँ । उनीहरुको चिया चनाको बिल पनि मैले नै तिरेँ । माहोल राम्रो बन्यो ।  

 

होटलबाट बाहिर निस्किदै गर्दा ड्राइभर सँग आँफुले भोलीको लागि टिकट नपाएको पिडा पोखेँ । उनले तत्कालै कण्डक्टरलाई बोलाएर काउन्टर सँग कुरो मिलाएर मलाई अगाडीकै सिट भएको टिकट लिईदिन भने । आधा घण्टापछि कण्डक्टरले बि साईडको तिन नम्बर सिट भएको टिकट मेरो हातमा थमाईदिए । मलाई त्यतिवेला ति ड्राइभर भगवान नै भएर आए झै लाग्यो । अव आरामले काठमाण्डौ पुगिन्छ भन्ने ढुक्क भयो ।   

 

भोलीपल्ट मिर्मिरे उज्यालो पनि नहुँदै  म चढेको  कुसुम यातायात खचाखच यात्रु बोकेर काठमाण्डौ तर्फ हुर्इँकियो । तावा खोला तरेपछि चुरेको जंगल सुरु हुन्छ । दायाँ बायाँ बडेमानका सालको रुख भएको घना जंगल बिचमा टिलिक्क टल्किने लमतन्न सुतेको कालोपत्रे सडकमा यात्रा सलल बगेको थियो । 

 

बसको रफ्तार सँगै रातभरको सितले ढपक्कै ढाकेको झ्यालको सिसा विस्तारै पुछिँदै थियो । गुरुजीले फुल भोल्युममा पुराना हिन्दी फिल्मका गित घन्काएका थिए । कतै सालको रुख भएको जंगल, कतै माटोका स–साना घर भएको वस्ती, लमतन्न फाँट अनि सुर्य उदाउन लागेको निलो आकाश हेर्दै आरामदायी यात्राका साथ झण्डै दुई घण्टामा मिर्चैया आईपुगियो । 

 

त्यो बसको त्यहाँ पनि टिकट काउन्टर रहेछ, काउन्टर अगाडी बस रोकियो । सिट नम्बर नै लेखेको टिकट बोकेर आधा दर्जन यात्रु बसमा उक्लिए । तर सिट त सबै कटारीबाटै प्याक थियो । अव त्यहाँ लफडा सुरु हुने त भईहाल्यो । एउटै सिटको दुईदुई वटा टिकट काटेको रहेछ । बसका स्टाफ र ति यात्रु विच भनाभन सुरु भएपछि काउन्टरको मान्छे हिँडिदियो ।   

 

अन्ततः निरिह ति यात्रु मुढामा बसेर वा उभिएरै दश घण्टा लामो काठमाण्डौ सम्मको यात्रा गर्न राजी भए । नहुन पनि कसरी ! त्यहाँ अरु कुनै विकल्प थिएन । उनीहरुको कुडिएको मन बाध्यताको अगाडी निरिह बन्नु नै थियो । यदि विकल्प थियो भने पैसा तिरेर गर्ने त्यति लामो यात्रा किन दुखदायी बनाउथे होलान् र !   

 

मिर्चैयाबाट चड्ने तिनै झुक्कार्ईएका यात्रुहरुमा पच्चिस छव्विस बर्षको जस्तो देखिने एक जना युवती पनि थिईन् । एकापटि छातीमा निदाएको एकडेढ बर्षको बच्चा च्यापेको, अर्कोपटि काँधमा व्याग भिरेको र एक हातमा अर्को झोला झुण्डाएकी थिईन् । त्यति सानो बच्चा बोकेको केटी मान्छे देख्दा देख्दै पनि त्यति लामो यात्रामा विना सिट झुक्याएर टिकट काट्ने त्यो काउन्टरको मान्छेको मन कस्तो होला ! 

 

कम्तिमा अलिकति दया थियो भने त्यति ठुलो खेलवाड गर्न नसक्नु पर्ने हो ! मनमनै सोच्दै थिएँ उनी मेरै सिट छेउमा उभिन आईपुगिन् । उनको अनुहारमा पिडा र अनुनयको वादल मडारिएको प्रष्टै देखिन्थ्यो । आमाको छातीमा लपक्कै टाँसिएर मस्त सुतेको त्यो अबोध शिशुको अनुहार हेरिरहेँ । यति लामो यात्रा यस्तो दुःखले यिनिहरुले कसरी छिचोल्छन् होला भन्ने लाग्यो ।   

 

खलाँसी भाईले एउटा मुढा ल्याएर मेरो सिटकै छेउ प्यासेजमा राखिदियो । उनी त्यही मुढामा अप्ठ्यारो गरी बसिन् । एकछिन अघि सम्म आरामदायी लागेको यात्रा ति दृश्य देखेपछि मलाई एकाएक उकुसमुकुस लाग्न थाल्यो । त्यँहाबाट बस हिँडेको पनि आधा घण्टा भईसकेको थियो । मनमा यसै कुराहरु खेल्न थाले । 

 

बसको रफ्तार सँगै वेलावेला मुढाबाट लडौँला झै गरेर उनी मेरो खुट्टा नजिक आईपुग्थिन् । म हतारहतार आफ्नो खुट्टा समाल्थेँ । अव मलाई भित्रभित्रै पोल्न थाल्यो । यतिको हट्टाकट्टा ज्यान भएको केटो म, यत्तिको यात्रा त उभिएरै पार गरिदिन सक्छु । फेरी सोचेँ– हिजो त्यति दुःख गरेर पाएको सिट कसरी छोडौँ ! एकछिन त छोडौँ कि नछोडौँ भन्ने दोधारमा परेँ । अन्ततः त्यो सिट उनलाई छोड्दिने निर्णय गरेँ ।   

 

‘तपाईँको बच्चालाई अप्ठ्यारो भएजस्तो छ, आउँनुस् मेरो सिटमा बस्नुस् ।’ मैले सिटबाट उठ्दै भनेँ । 

 

उनी चकित परिन् । केही बोल्नै सकिनन्, सिधा मेरो आँखामा हेरिरहिन् । उनको आँखाको डिल सम्म आईपुगेको खुसीको आँसु खस्न मात्र बाँकी थियो । उनी म प्रति यति धन्य भईन् कि त्यो शब्दमा बयान गर्न सायदै सकिएला । 

 

उनी मेरो सिटमा बसिन् म उभिएँ । पछाडीका यात्रुहरुले मलाई आश्चर्य माने झै भावमा हेरे । कसैले भने होलान् ‘ठिक ग¥यो केटाले ।’ कसैले भने होलान् ‘कस्तो मुर्ख केटो रहेछ ।’ कसैले त यो पनि भने होलान् ‘हिरो बन्न खोज्यो केटो ।’ जसले जे सुकै भनुन् मेरो आत्माले सिट छोडर ठिक गरिस् केटा भन्यो । कहिले मुढामा बसेर, कहिले खँलासी भाईसँग ढोकामा उभिएरै भएपनि मैले दश घण्टा लामो काठमाण्डौ सम्मको यात्रा पुरा गरेँ । 

 

झमक्क साँझ परिसक्दा हामी कंलकी आईपुग्यौँ । उनी कंलकी नै झर्ने रहिछिन् । झर्ने बेलामा उनले मलाई धन्यवाद दिदै एउटा सानो कागजको टुक्रामा उनको घरको टेलिफोन नम्बर दिएर गईन् । त्यतिवेला मोवाईल आम पहुँचमा थिएन । मैले त्यो कागज जतन साथ पाइन्टको गोजीमा घुसारेँ । 

 

उनले पर पुगुन्जेल सम्म फर्किफर्कि बसतिर हेरिन् । उनले बस हेरिन् वा आफु बसेको सिटलाई हेरिन् वा मलाई उनै जानुन् । मैले पनि ओझेल नपरुन्जेल सम्म उनी गएको हेरिरहेँ । हाम्रो बस कोटेश्वर हुँदै चावहिल आउन बल्खु तर्फ लाग्यो ।

 

दुई दिन पछि उनलाई फोन गर्नुप¥यो भनेर पाईन्ट खोजेँ । पाईन्ट त धोएर सुकाईदिएको रहेछ । दौडिएर सुकाई राखेको पाईन्टको गोजीमा हेर्न पुगेँ, त्यो कागज भिजेर धुजाधुजा भएछ । धत् कस्तो हुस्सु म ! त्यो कागज पर्समा राखेको भए त हुन्थ्यो नि ! आफुले आफैलाई धिक्कारेँ । निक्कैवेर चुकचुकाएँ । 

 

धेरै दिन सम्म उनको अनुहार झलझली आँखा अगाडी आईरह्यो । यतिका बर्षपछि फेरी कतै उनले भेटिन् भने चिन्छिन् कि चिन्दिनन् होला ! अनि मैले ? त्यो पनि थाहा छैन । 

***
 
‘वाउ ! हजुर कस्तो दयालु ! कस्तो राम्रो मन भएको मान्छे !’ निधारमा झरेको मेरो कपाल मिलाईदिदै उनले भनिन् । त्यति वेला सम्म हामीले दुईदुई वटा क्यान वियर पिईसकेका थियौँ ।

अव लन्च टाईम भैसकेको थियो । चिकेन–राईस सेट वाला प्याकिङ् वक्स हाम्रो सिट अगाडी ट्रेमा आईसकेको थियो । 

यति वेलामा हामी म्यानमारको आकाशमा छौँ । सबै कुरा यथावत् रहेमा केही घण्टापछि हामी बैंककको सुर्वणभुमी अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गर्दै छौँ । 
क्रमश… 

यात्राको पहिलो भाग तलको लिंकमा क्लिक गरी पढ्नुहोस् ।  

दाहालद्धारा लिखित मन छुने दुई कविता पढ्न यहाँ क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?