अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले पुन: खिच्यो २० अर्ब रुपैंयाँ

लोकपथ
196
Shares

काठमाडौं । नेपालमा अहिले लघुवित्त वित्तीय संस्था बाहेक २१ वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरु सहितका ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकले पछिल्लो पटक अर्थात यही असार १७ गते अधावधिक गरेको बैंकिङ क्षेत्रमा रहेको निक्षेप तथा कर्जा सम्वन्धी पछिल्लो बिवरण अनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप अहिले ५६ खर्ब १३ अर्ब रुपैंयाँ रहेको छ । यस मध्ये बाँणिज्य बैंकहरुमा मात्र ४९ खर्ब ५७ अर्ब रुपैंयाँ निक्षेप रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुमा छ खर्ब ५७ अर्ब रुपैंयाँ निक्षेप रहेको छ ।

यसअवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४८ खर्ब ६२ अर्ब रुपैंयाँ रहेको छ । जसमध्ये बाँणिज्य बैंकहरुको मात्र कर्जा रकम ४३ खर्ब चार अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ५९ अर्ब रुपैंयाँ रहेको छ । यो अवस्थामा बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा तथा निक्षेप अनुपात अर्थात सिडी रेसियो भने ८३ दशमलव ४७ प्रतिशत रहेको छ ।

यो अवस्था भनेको बैंक तथा फाईनान्स कम्पनीको लागि कर्जाको दृष्टिकोणले सहज अवस्था हो । तर अहिले बैंकिङ क्षेत्रमा निक्षेप रकम बढेपनि नयाँ कर्जाको माग भने बढन् सकेको छैन । अर्थतन्त्रमा देखिएको मन्दीले पनि हुन सक्छ, नयाँ कर्जाको माग नभएको हो । यही कारण पनि बिगतमा तरलताको अभावको समस्या झेलेका बैंक तथा फाईनान्स कम्पनीहरु अहिले भने अधिक तरलताको समस्याबाट गुज्रिएका छन् ।

बैंकिङ क्षेत्रका देखिएको यो अधिक तरलतालाई नियन्त्रणमा राष्ट्र बैंकले रिर्भस रिपो जारी गरेको छ । पहिलो पटक यही असार सात गते सात दिने अवधिको १० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गरेर बजारबाट रकम खिचेको राष्ट्र बैंकले असार १० गते पुन सात दिने अवधिको २० अर्ब रुपैंयाँ बराबरको रकम बजारबाट खिचिसकेको छ । यसरी दुई पटक बजारबाट लगानीयोग्य रकम खिचेको राष्ट्र बैंकले असार १९ गते मंगलबार पनि पुन १० अर्ब रुपैंयाँ बराबरको रकम खिचिसकेको छ । राष्ट्र बैंकले १० दिने अर्थात यही असार २९ गते परिपक्व हुने गरी रिर्भस रिपो जारी गरेको हो ।

विगतमा लगानीयोग्य रकमको अभावका कारण समस्यामा परेका बैंक तथा फाईनान्स कम्पनीहरुमा अहिले लगानीयोग्य रकम थुप्रिएको अर्थात अधिक तरलताको समस्या देखिएकाले राष्ट्र बैंकले रिर्भस रिपो जारी गरेर अधिकत तरलताको अवस्थालाई नियन्त्रणमा राखेको हो । रिपो बित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएमा त्यस्तो अभावलाई नियन्त्रमा राख्न राष्ट्र बैंकले वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्न रिपो जारी गर्ने गर्दछ ।

तर बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ । असार १९ गते मंगलबार जारी भएको रिर्भस रिपो पनि सोही प्रकृतिको मौद्रिक उपकरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?