काठमाडौं । विद्युत चुहावट पाँच महिनामा १० प्रतिशतले घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७५–०७६ को पाँच महिनामा २५.७५ प्रतिशतबाट १५.४५ प्रतिशत चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको उनले बताए ।
‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आर्थिक वर्ष २०७३–७४मा घटाएर २२.९ मा झार्यौं, आर्थिक वर्ष ०७४–७५ मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा सिमित गर्न सफल भएका छौं ।’ उनले भने ।
यसैकरिब प्राधिकरणका कर्मचारीहरुका अनुसार १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने बताए ।
चालु आर्थिक वर्षमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको घिसिङले बताए ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया