नयाँ बानेश्वर बस्ने एक किशोरीलाई एउटा अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आयो । उनले सो रिक्वेस्ट ‘एसेप्ट’ गरिन् ।
दुवै जनाबीच सामान्य कुराकानी हुन थाल्यो ।
उक्त युवकले कुराकानीका क्रममा उनलाई आफूले असाध्यै प्रेम गर्ने बताए ।
किशोरीले पनि सो युवकको प्रेमप्रस्ताव सहजै स्वीकारिन् ।
उनीहरुबीच फेसबुक म्यासेन्जरमा मात्र कुराकानी हुने गथ्र्याे । न कहिले भेट भयो न कहिले भिडियो कल नै । करिब हप्ता १५ दिनको कुराकानीपछि उक्त युवकले किशोरीलाई नग्न तस्वीर पठाउन अनुरोध गर्यो । शुरुमा उनल सो प्रस्ताव अस्वीकार गरिन् तर, युवकले तस्वीर माग्न छाडेनन् । अन्ततः किशोरीले गोप्य अंगहरुको तस्वीर फेसबुकमार्फत पठाइन् ।
किशोरीले युवकलाई आफ्नो नग्न तस्वीर पठाएपछि मात्र थाहा पाइन् कि त्यो ‘फेसबुक आइडी’ फेक हो ।
अर्कै युवकको फोटो राखेर फेक आइडी चलाउने त्यस युवकलाई किशोरीले भिडियो कलमा आउन बारम्बार अनुरोध गरिन् । तर, उनले गरेको अनुरोधलाई ती युवकले नकारे ।
किशोरीले दिनहुँ भिडियो कलमा आउन अनुरोध गरेपछि मात्र ती युवक पहिलो पटक भिडियो कलमा आए । जब भिडियो कलमा कुरा गर्न ती व्यक्ति आए तब ती युवती छाँगाबाट खसे जस्तै भइन् ।
ह्याण्डसम केटाको तस्वीर राखिएको फेसबुक आइडीमा अर्के युवकले कुराकानी गरेपछि ती युवतीले आफु फसेको चाल पाइन् । तर, करिब २० दिनसम्म किशोरीले ती युवकसँग फेसबुकमा सामान्य कुराकानी गर्न भने छाडिनन् । लगतै किशोरीले केही दिनमा युवकसँग कुराकानी गर्न बन्द गरिन् । आफ्नो फेसबुक अकाउण्ड पनि बन्द गरिन् ।
दैनिक कुराकानी गर्ने किशोरीले एकाएक फेसबुकमा ‘ब्लक’ गरेपछि ती युवकले उक्त किशोरीको नग्न तस्वीर सामाजिक सञ्जालमार्फत विभिन्न आइडी बनाएर साथीहरुलाई पठाउन शुरु गरे । बारम्बार युवकले ती किशोरीलाई विवाह गरौ भन्दै ‘ब्लाकमेलिङ’ पनि गर्न थाले । आखिरी अवस्थामा पुगेकी युवती अन्ततः सहयोगको याचना गर्दै प्रहरीमा पुगिन् ।
उजुरी दिनका लागि किशोरीले फेक फेसबुक आइडी ‘सक्कली व्यक्ति’लाई पनि साथ लिएर गइन् । धादिङ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आइरहेका उक्त ‘सक्कली युवक’ले यस अघि नै आफ्नो फोटोको गलत प्रयोग भएको भन्दै महानगर अपराध माहाशाखा टेकुमा उजुरी दिइसकेका रहेछन् ।
अपराध माहाशाखाका अनु्सार ती फेक आइटी चलाउने युवकले अपरिरिचत अधिकांश युवतीहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाई साथी बनाउने र यौनसम्बन्धी र अश्लील कुराहरु गर्नुका साथै नग्न तस्वीरहरु पठाउन अनुरोध गर्ने गरेको थियो ।
दुवै जनाले दिएको उजुरीको आधारमा फेक आइटी चलाउने व्यक्ति खाडी मुलुक ‘मलेसिया’को एक कम्पनीमा सेक्युरेटी गार्डमा कार्यरत रहेको पाइयो । झापा स्थाई घर भएका ती व्यक्ति वैदेशिक रोजगारीको शिलशिलामा करिब १० वर्षदेखि मलेसिया रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले यो मुद्दा अदालतसम्म पुगेको छ ।
ती पिडित किशोरी त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तो घटना शहरमा मात्र हैन गाउँघरका सोझासिधा युवतीहरु जसले भर्खरै मोबाईलमा गफिने अवसर पाएका छन् । फेसबुकबाट कुरा गर्न मिल्छ । मान्छे नै देख्न मिल्छ भन्नेसम्म मात्रै थाहा पाएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आपाराधिक गतिविधिमा संलग्न हुनेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । त्यसैले यसतर्फ सबैले बेलैमा सचेतना अपनाउन जरुरी छ ।
के हो साईबर क्राईम ?
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् ।
यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरुमा पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याइएको कानून साइबर कानून हो ।
त्यस्तै अहिले बढ्दो प्रविधिका कारण ‘साईबर क्राईम’ बढीरहेको छ । दिनहुँजस्तो सुनिएका समस्याहरुबारे आम प्रयोगकर्ता पनि त्यतिधेरै अनविज्ञ नहोलान् ।
प्रविधिको विकाससँगै जति सजिलो भएको छ, यसको प्रयोगले त्यति नै समस्या थपिँदै गएको छ । त्यसमा पनि फेसबुक, ट्वीटर, भाईबर, ह्वाट्स एप्प, वि च्याट जस्ता सामाजिक सञ्जालबाट मानिसहरुलाई एक अर्कासँग कुरा गर्न, आफ्ना भावना तथा विचारहरु साट्नको लागि अत्याधिक रुचाइएको एप्सहरु हुन् । यी एप्समार्फत निरन्तर सस्तो शुल्कमा सञ्चार गर्न सजिलो भएको छ । तर, यहि प्रविधिको प्रयोगले दिनानुदिन समस्यापनि थपिँदै गएको छ ।
फेसबुक भर्सेस फेकबुक
सामाजिक सञ्जाल ‘फेसबुक’को प्रयोग गरी विभिन्न अपराध भइरहेको त हामीले सुनेका नै छौँ । यसका अलावा पछिल्लो समय फेसबुकमार्फत नै यौन दुव्र्यवहारका घटना पनि बढ्दै गएको छ । पछिल्लो समय फेसबुकका कारण निम्तिएका समस्याले भयावह रुप लिँदै गएको छ ।
यही फेसबुकको प्रयोग गरी चरित्र हत्या, हिंसा फैलाउने, यौनजन्य हिंसा, इन्टरनेटबाट सम्बन्ध गाँस्ने तथा धोका दिने, अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर प्रयोग, विद्युतीय उपकरण तथा नेटवर्कमा पु-याउने क्षति लगायत अवैधानिक कार्यहरुको उल्लेख्य रुपमा वृद्धि भइरहेको देखिन्छ ।
वर्षेनि यो संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । नयाँ तथ्यांकअनुसार फेसबुकबाट पीडित हुनेमा अधिकांश महिला रहेका छन् ।
महानगरीय अपराध महाशाखा टेकुमा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९ सय २६ उजुरी दर्ता भएका छन् ।प्रहरी प्रधान कार्यालय टेकु ‘साइबर क्राइम’का अनुसार अहिले यौनदुव्र्यवहारमा विद्यालय उमेरका बालिकादेखि किशोरीहरुको संख्या अत्याधिक छ । महाशाखाका अनुसार युवावर्ग बढी ‘साइबर क्राइम’मा लागेका छन् । जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा ‘साइबर क्राइम’मा बढीजसो संलग्न हुने गरेको पाइएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका अनुसार मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको जानकारी दिए ।
सामाजिक सञ्जाल ‘फेसबुक’बाट किशोर किशोरी नजिकिने, अतरंग तस्वीर आदान-प्रदान गर्ने, गेम खेल्ने, सर्ट भिडियो क्लिप्सहरु साटासाट गर्ने जस्ता विभिन्न गतिविधि अत्यधिक रुपमा भइरहेको छ । पछिल्लो समय यसै फेसबुकको आडमा अतरंग तस्वीर तथा भिडियोहरु भाइरल भएको हो ।
नेपालको विद्युतीय कारोबार ऐन– ०६३ले ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर’भनेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकता
नेपाल प्रहरीले पछिल्लो समय ‘साइबर क्राइम’का घटनामा वृद्धि भएपछि साइबर ब्यूरोसमेत स्थापना गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गरेको गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्यूरो स्थापना गरेको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदी प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्व रहने गरी ७० दरबन्दी भएको ब्यूरो स्थापना गरिएको बताए । ‘हाल प्रहरी प्रधान कार्यालयबाट सञ्चालन हुँदै आएको ब्यूरोले छिट्टै प्रहरी प्रधान कार्यालय बाहिर रहेर जनताको सेवा गर्नेछ ।’, प्रवक्ता सुवेदी बताए ।
विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने
सामाजिक सञ्जाल फेसबुक लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने कामलाई साइबर क्राइम हो ।
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
महाशाखाले साइबर अपराधमा ९ सय २६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्का नाममा रहेको फेसबुक, ट्वीटर ह्याकिङ गर्नेछ, जथाभावी एसएमएस गर्ने ९, युट्युव जे पायो त्यही पोष्ट गर्ने ३ र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने पाँचविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७३-७४ मा एक हजार १ सय ९७ उजुरी दर्ता भएकामा २६ विरुद्ध मुद्दा चलेको छ भने आव २०७४-७५ मा एक हजार ४ सय ८२ उजुरी दर्ता भएकामा ६८ विरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ ।
तथ्यांक हेर्दा गत वर्षको तुलनामा आव ०७५-७५मा मात्रै एक हजार ४ सय ८२ उजुरी दर्ता भएको छ ।
महाशाखाका प्रवक्ता उप्रेतीले साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अफ्ठ्यारो हुने गरेको बताए । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ ।
विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या गर्नेको संख्यामा समेत वृद्धि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा साइबर कानून कस्तो छ ?
पछिल्लो समय नेपालमा साइवर अपराध बढ्दो छ । यसलाई मध्यनजरमा राख्दै नेपाल प्रहरीले कडा नियम पनि लागु गर्ने तयारीमा छ ।
विद्युतीय कारोबार ऐन २०६३ को अन्तर्गत साइबर क्राइमका अपराधिलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
यदी कसैले कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउँदा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यसैगरी एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाए दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
यसैगरी अनुमति बिना एकको तस्वीर अरुलाई पठाउँदा वा बिक्री गर्दा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ।
यो व्यवस्था भाग ३ को परिच्छेद १ मा गोपनीयता विरुद्ध कसूरमा उल्लेख गरिएको छ ।
साइबर क्राइमसम्बन्धि नयाँ बन्ने कानूनमा के छ ?
यसैबीच सरकारले साइबर क्राइमसम्बन्धी घटना बढिरहेका बेला नयाँ कानून ल्याउने तयारी गरेको छ ।
- अब सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानूनी रुपमा काम गर्नेहरु माथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजायसहित विधेयक संसदमा पेश हुँदैछ ।
- विद्युतीय कारोबार ऐन, २०६३ र राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश २०५८ लाई खारेज गरी सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने तयारी भइरहेको छ ।
- विद्युतीय प्रणाली मार्फत यौनजन्य कार्य गर्न जबरजस्ती गरेमा, गर्न लगाएमा वा जुनसुकै किसिकले धम्क्याएमा १० वर्ष कैद वा १० लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
- सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको दुरुपयागे गरी गैरकानूनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद हुन सक्नेछ ।
- त्यस्तै सञ्चार मन्त्रालय स्रोतका अनुसार विधेयकमा विद्युतीय प्रणालीको माध्यमबाट बाल अश्लील सामाग्रीको उत्पादन वा संकलन गरेमा वा त्यस्ता सामाग्री देखाउने तथा प्रकाशन प्रसारण गरेमा पनि १० वर्ष कैद र १० लाख जरिवाना हुनेछ ।
- नेपालको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भिर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पु¥याउने र त्यसमा उक्साउने व्यक्तिलाई १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
- विद्युतीय प्रणालीको प्रयोग गरी मानव बेचविखन तथा अपहरण वा लागूऔषध बिक्री वितरणलगायत अपराधिक काम गरे गराएमा ३ वर्ष कैद तथा ५ लाख जरिवाना हुनेछ ।
- सामाजिक सञ्जाल वा इमेल तथा विद्युतीय प्रणालीको माध्यमबाट कसैलाई हैरानी गर्ने, जिस्काउने, होच्याउने, हतोत्साही बनाउने, हप्काउने, असुविधामा पार्ने जस्ता साइबर बुलिङ गरेमा २ वर्ष कैद सजाय हुनेछ ।
- विद्युतीय स्वरुपमा रहेको अर्थात इमेल वा म्यासेज बक्समा आएको अन्य कसैको वैयक्तिक सूचनालाई सम्बन्धित व्यक्तिको अनुमतिविना गोपनीयता भंग गरेमा २ वर्ष कैद र २ लाखसम्म जरिवाना हुनेछ ।
- कसैको मञ्जुरी बिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गरे व्यवस्था अनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
- ‘सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ ।
- त्यस्तै उपदाफा (२)मा कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित व्यक्तिको मञ्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नपर्ने उल्लेख गरिएको छ ।
साइबर अपराध जोखिम न्यूनिकरण
‘साइबर क्राइम’का घटनाहरु वृद्धि हुनुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो रहेको देखिएको छ । नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको ‘साइबर क्राइम’विरुद्धको कडा कानून नहुनु पहिलो रहेको पिडितहरु बताउँछन् ।
साइबर क्राइमसम्बन्धी कडा कानून ल्याए यस्तो घटनालाई न्यूनिकरण गर्न सकिने अपराध माहाशाखाले जनाएको छ । त्यसैले यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको पिडितहरुको माग रहेको छ ।
साइबर अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको समेत खाँचो रहेको बताइएको छ । अपराध माहाशाखाका अनुसार सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिने छ ।
त्यसैले साइबर अपराधविरुद्धको अभियान अहिलेको मुख्य आवश्यकता रहेको पिडितहरु बताउँछन् ।
नेपाल प्रहरीले हालै सार्वजनिक गरेको पुलिस ‘मिरर’ पुस्तिकामा के छ ?
नेपाल प्रहरीले हालै सार्वजनिक गरेको पुलिस ‘मिरर’ पुस्तिकामा नेपालमा सर्वाधिक हुने अपराधको तेस्रोमा जबरजस्तीकरणी पर्छ । तर, कुल अपराधको १५ प्रतिशत महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटना छन् । यो त प्रहरीमा रेकर्ड हुने तथ्याङ्क मात्रै हो ।
अझै पनि कतिपय घटना प्रहरीसम्म पुग्दैनन् । प्रहरीमा पुगेका कतिपय घटनामा पनि सहमतिमा टुंगिन्छ ।जारी आर्थिक वर्षको चार महिनाको अवधिको तथ्याङ्क हेर्दा ७ सय ८८ वटा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । त्यसमध्ये अधिकांश १९ वर्षभन्दा कम उमेरका रहेका छन् ।सबैभन्दा बढी ५ सय २१ वटा घटनामा साथीभाइ र छिमेकीबाटै पीडित बनेका छन् ।
दिनहु ‘साइब्रर क्राइम’मा फस्ने युवा युवतीहरुको संख्या बढ्दो छ । कोहीले नग्न तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै आत्महत्याको बाटो रोज्छन् भने कोही मानसिक रोगी हुने गरेको पाइएको छ । ख्याल ख्यालमै आफ्नो नग्न तस्विर साटासाट गर्दा हरेक दिन युवा युवतीहरुले यस्ताखाले मानसिक समस्या झेल्दै आइरहेका छन् । सामाजिक सञ्जालले टाढा रहेका आफ्ना आफन्तजन र छुटिएका साथीहरुलाई च्याट र भिडियो कुराकानीको माध्यमले नजिक ल्याउन सहयोग गर्छ । तर, कहिले काँहि यहि सामाजिक सञ्चालको गलत प्रयोगले मानिसलाई भयावह अवस्थाको सामना गर्नुपर्ने हुन्छ । त्यसैले सामाजिक सञ्जाल चलाउदा ख्याल राख्ने गर्ने पो हो की ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया