धर्मको पुच्छर र कांग्रेसको बैतरणी

जनकराज ढुंगाना (कालु)
नेपाली कांग्रेसमा अथर्व वेदमा उल्लेख गरिएको जस्तो ‘अभिवर्धतां पयसाभी राष्ट्रेण वर्धताम्’ जपको अपेक्षा अनर्थ हुन्छ । ऋग्वेदको मण्डलमा उल्लिखित ‘मधु वाताऋतायते मधुं क्षरन्तिसिन्धवः । माध्वीर्नः सन्त्वोषधीः…’ जस्तो सार्थक कर्ममा आफूलाई उभ्याउनुको अर्थ खोज्दा पनि अनर्थ हुन्छ । कांग्रेस संरचनामामात्र खण्डित हैन विचारमा पनि, नीतिमा पनि, कार्यक्रममा पनि खण्डित हुँदोछ र चरित्रमा पनि खण्डित हुँदोछ । यसबाट ऊ हिजो जनमतमा किन र कसरी पछारियो भन्ने प्रश्नको पनि उत्तर मिल्छ र भोलीको असाध्य धमिलो तस्वीरको पनि ।

यसअघिको अंकमा भनियो ‘जुन दिन कांग्रेसले राष्ट्रियताको अडान छाड्छ, कांग्रेस निरर्थक हुन्छ, जुनदिन प्रजातन्त्रको आदर्श बर्को सत्तास्वार्थको ढाल हुन्छ त्यो बेला पनि कांग्रेस निरर्थक हुन्छ ।’

जनता सम्म पुग्ने नीति र कार्यक्रमको खडेरी चिर्न त परै जाओस् पार्टीभित्र हाँगा र पात पात मै गुटेपार्टीको खेतीमा मल हाल्दै रमाएपछि अरु नसकिए पनि कांग्रेस सकिन्छ

जनता सम्म पुग्ने नीति र कार्यक्रमको खडेरी चिर्न त परै जाओस् पार्टीभित्र हाँगा र पात पात मै गुटेपार्टीको खेतीमा मल हाल्दै रमाएपछि अरु नसकिए पनि कांग्रेस सकिन्छ । दुई तिहाईको कम्युनिष्ट सरकारको गति रोक्न उसले बजाएको अधिनायकवाद र निरंकुशताको बाजामा धेरै धून फेरियो, तर कांग्रेस राष्ट्रहितको, जनहितको मैदानमा फेरि उभिने छाँट छैन । कांग्रेस अहिलेको सरकारको बाटो छेक्ने अवस्थामा त छैन नि, आफ्नो बाटो बनाउने स्थितिमा पनि नहुनु कांग्रेसको लागिभन्दा देशकै लागि हानिकारक हुनसक्छ ।

४० वर्षअघि विपीले गरेको चिन्ता कै अवस्थामा आज को कांग्रेस छ । सिद्धान्त र आदर्श रछ्यानमा मिल्काएर फगत सत्ता र शक्तिमा मात्र निशाना साँध्दा राष्ट्रियतासँग काँग्रेसको नाता लगभग टुटेको छ । र, विपीकृत समाजवादको प्रजातन्त्रको पखेटा च्यातिदो छ । राजाको मूर्खतापूर्ण कदमविरुद्द अर्को अतिवादसँग घाँटी जोडेर गरिएको क्रान्तिको प्रतिफल भोग्दैछ नेपाली कांग्रेस ।

यही देशको धर्मको मात्र जग हल्लिएको छैन कांग्रेसको धर्मको पनि जग हल्लिएको छ । 

विपीले आठ वर्ष कारावासमा बिताए । अर्को आठ वर्ष निर्वासन भोगे । तर मृत्यु पर्यन्त निश्चित दर्शनको केन्द्रमा रही राजनीतिक योग र तपस्यामार्फत् राष्ट्रियता, प्रजातन्त्र र विकासकालागि एउटा मार्गचित्र दिए ‘हरेक नेपालीको घरमा गोठ र गोठभित्र एउटा गाई हुनुपर्छ ।’ यसको आशय दुध, दही, र पनिरका लागिमात्र गाईको आवश्यकता महशुस गरिएको थिएन त्यसभित्र हिन्दुत्वको महत्व पनि थियो । तर कांग्रेस हिन्दूत्वको त्यो महासागरबाट किनारा लागेर अरुसरह निरपेक्षताको वीष समान गीतमा नाचिरहेको छ ।

विचारले आस्थाको माग गर्दछ । वा, आस्थाले विचार बोक्छ । विचारमाथिको गहिरो विश्वासको नामआस्था हो । विचार आस्थामा परिणत भएपछि त्यो बज्रलेप अर्थात् सुदृढ हुन्छ । त्यही आस्थाले त्याग, उत्सर्गका निम्ति प्रेरित गर्छ । आस्थाले प्रतिफलको अपेक्षा गर्दैन । लाभ–हानिको जोखतौल गर्दैन । भौतिकताको रौँ चिरा तर्कको आश्रयमा आस्था बस्दैन । जब आस्थामै धमिरा लाग्छ भने संघर्ष, त्याग र बलिदानको गीत को गाउँछ ? नेपाली कांग्रेसको हकमा यही लागू हुन्छ । महासमिति वैठकमा प्रवेश पाएको हिन्दुत्वको प्रश्नलाई किराँत र बौद्धमार्गी कार्यकर्तासँग जोखेर काँग्रेस सनातन जगबाट भाग्यो । आफ्नै धर्ममा टिक्न, अडिन र उभिन नसकेपछि संकटले छोप्छ, जायजै छ ।

नेपाल धर्म निरपेक्ष भएदेखि कांग्रेसलाई हिन्दुत्वको खटिरा ले नचिलाएको होईन । देखाउँदा लुतो होला भन्ने डर र नदेखाउँदा पार्टी सकिने भय । यही भयबाट अझै त्रस्त छ कांग्रेस । खुमवहादुर खड्का भ्रष्टाचार मुद्दाबाट सफाई पाएपछि हिन्दुत्वको रक्षा खातिर ‘नयाँकांग्रेस बनाउन तयार छु भन्थे । खड्काको अवसानपछि खड्काकै आत्मा बोकेर घरानिया कांग्रेसको दौडाहा शुरु भो । तर महासमितिमा घरानियाँ कांग्रेस चूँ बोलेन । १३ औं महाधिवेशनमा सभापति देउवाको विकल्प दिन्छु भन्दै दौडनेको दौडाहाको मुद्दा निहुरिमुन्टीमै टर्यो । न गिरी बोले, न केसी । न सिंह न थापा । एउटा कार्यक्रममा अर्जुन नरसिंह केसीले ‘म धार्मिक स्वतन्त्रताको पक्षमा छु’ भन्दै गर्दा ‘म धार्मिक हस्तक्षेपको विरुद्ध र सनातन परम्पराको जगमा उभिएको छु’ सम्म भन्नसकेनन् ।

देखाउने दाँत र चपाउने दाँत अलग्गै बोकेर हिंडेपछि न नेताको विश्वास हुन्छ न पार्टीको । नत्रव्यारेक र वाहिनिबाट देविदेवताकानाम हटाउने अभियान छेडिंदा मुर्दा बोल्लाकांग्रेस बोल्दैन । प्राण भए त बोल्ने हो, प्राण नै नरहेपछि को बोल्छ ?

निरपेक्षताविरुद्ध जनमत संग्रह चाहिन्छ भनेर डंका पिट्ने व्यक्तिसमूह र परिवारको लंका जल्ने भयले मौन रह्यो ।

देखाउने दाँत र चपाउने दाँत अलग्गै बोकेर हिंडेपछि न नेताको विश्वास हुन्छ न पार्टीको । नत्रव्यारेक र वाहिनिबाट देविदेवताकानाम हटाउने अभियान छेडिंदा मुर्दा बोल्लाकांग्रेस बोल्दैन । प्राण भए त बोल्ने हो, प्राण नै नरहेपछि को बोल्छ ?द्रव्यको मोहमा धार्मिक साम्राज्यवादको मतियारको काम गरिरहेको समाज कल्याण परिषद् अखडामा ऊ धावा बोल्दैन । बैदेशिक द्रब्यलिने संस्थाहरुको अनुगमन अब गृहबाट अर्कै पांगदुरे मन्त्रालयमा स्थानान्तरणको तयारी हुनलाग्दा कांग्रेस सुतिरहेको हुन्छ । 
काँग्रेसले स्थापनाको पहिलो घोषणामै “श्री ५ को वैधानिकनायकत्व”उल्लेख गरेर“राजत्व”प्रति आस्था दर्शायो । सैद्धान्तिक आधार प्रजातन्त्र रह्यो जहाँ शासन व्यवस्थामा राजाको स्थान थियो । वैधानिक राजाको अवधारणा यही हो । जसै प्रजातन्त्रपक्ष र राजापक्ष छुट्टियो, न राजतन्त्र बच्यो न प्रजातन्त्रैको निश्चितता रह्यो । वैधानिक बाटो छाड्दा ज्ञानेन्द्र कुम्लोकुटुरो बोकेर नागार्जुनमा सीमित भए । प्रजातन्त्रैको मेरुदण्डमा बलियोसँग उभिन नसक्दा कांग्रेस जनमतमा पाहाझैं पछारियो । उसकै समाजवादको गीत अलापेर अरुले कुरुक्षेत्रमा पछारिसक्दा पनि ऊ ब्यूँझीनसकेको प्रतीत हुन्न ।

बरु नयाँखबर आउँदैछ पुनःमुसिकाभवः शैलीमा । पशुपतिशमसेर र प्रकाशचन्द्रको हलोमा नेपाली कांग्रेस नारिन लागेको बिद्रुप खबर । निर्मल निवाशको सहभोजमा देउवालाई गरिएको आमन्त्रण यदि झुठो होइन भने कांग्रेस अब बिरालो बोकेर बाघ मार्न निस्किएको ठम्याउँदा हुन्छ । तर हिन्दुत्वको तीर साँध्दाफेरि राजाको भूतको भयबाट कांग्रेस त्रस्त छ । धर्म चलाउँदा राजाले पनि कब्रस्तानबाट उठेर कठालो समात्ने भयबाट ग्रस्त । त्यसैले ऊ अन्तरिम संविधानमा धर्म निरपेक्षता कसले कसरी प्रवेश गरायो भन्नेबारे जनतालाई बुझाउन जिब्रो चपाउँछ । हामीबाट गल्तीभयो भनेर हिंड्न लरखराउँछ । निरपेक्षताको डोरी समातेर कसरी द्न्द्वको खेतीभइरहेको छ भनेर ढुंगो बोल्लाकांग्रेस बोल्दैन । धर्म, जात र भूगोलको वृत्तभित्र कसरी कांग्रेसपनि हारिरहेको छ भनेर हेर्न अन्त जान नपर्ने भएको छ ।

 आडम्बरमा, राजनीति कपटमा, अर्थनीति स्वार्थमा, सामाजिक सम्बन्ध वैभवको प्रतिष्पर्धामा लक्षित भएपछि चरित्र कसरी आदर्श बन्छ ? नैतिकता कसरी प्रतिस्थापन हुन्छ ? पार्टीका मसिहाहरुमा पारदर्शिता, सदाचार खोज्यो भने दुनिया हाँस्छ ।

धर्म, राजनीति, अर्थनीति एवम् सामाजिक सम्वन्ध नैतिक र चारीत्रिक उत्कर्षमा गतिमान हुन्छन् ।  धर्म आडम्बरमा, राजनीति कपटमा, अर्थनीति स्वार्थमा, सामाजिक सम्बन्ध वैभवको प्रतिष्पर्धामा लक्षित भएपछि चरित्र कसरी आदर्श बन्छ ? नैतिकता कसरी प्रतिस्थापन हुन्छ ? पार्टीका मसिहाहरुमा पारदर्शिता, सदाचार खोज्यो भने दुनिया हाँस्छ । अनि हामी प्रजातन्त्र नैतिक र चारित्रिक धरातलमा विकसित हुने आदर्श फलाक्छौं । को पत्याउँछ ?यो विरोधाभाष सबै संरचनामा विद्यमान छ । जनतासँगको सम्बन्ध टुट्नुमा यो ठूलो कारण हो भनेर अझै चेत घुसेको छैन । क्रान्ति सत्ताको सवालमामात्र केन्द्रित हुने तर सोच र चरित्रमा कहिल्यै नहुने ? राजनीतिक साधनाको अर्थ सत्ता, सुखभोग, विलास, नातासम्बन्ध र परिवारको मात्र कल्याण? नेतृत्वको अर्थ सामाजिक विश्रृंखलता, अराजकता, असुरक्षा, अभाव मा मौनता साँध्ने प्रमाणपत्र मात्र ?

पार्टी हुनुको अर्थ जनसंख्या, भूगोल, सार्वभौमिकता, सभ्यता, संस्कृति, भाषा, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता जस्ता विषयमा आफ्नै आदर्श र अडानमा उभिन सक्नु पनि हो । प्रान्तीयता र धर्ममा संकुचन आउँदैमा समृद्दि रोकिने त होइन तर राष्ट्रिय एकताको जरो बलियोसँग सम्हाल्न नसक्दा त्यसले पैदा गर्ने अनिश्चितता र दिशाहिनताले पार्टी र देश दुबैलाई दलदलमा लैजान्छ । अन्तद्र्वन्द्व र अन्तरविरोधको जालोमा जेलिएको कांग्रेस अकमण्र्यताको स्थितिबाट बाहिर निस्किएमात्र देशले पनि ठोस निकास पाउने हो । तर त्यो बाटो पनि कांग्रेसका लागि टाढा बन्दै गएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?