सुबिन भट्टराई भन्छन्, ‘समर लभ’ हेर्नुस्

काठमाडौं । लेखक सुबिन भट्टराईले आफ्नो उपन्यासमाथि निर्माण भएको फिल्म ‘समर लभ’ हेरिसकेपछि आफू भावुक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट लेख्दै फिल्म हेर्न आफ्ना पाठकलाई अनुरोध समेत गरेका छन् ।

तीन वर्ष लगाएर निर्माण गरिएको यो फिल्ममा आफ्ना मत निर्माण पक्षसँग धेरै ठाउँमा बाझिए पनि लेख्नु र कल्पनामा उतार्नुबीच धेरै अग्ला पहाड भएको आफूलाई लागेको उनले बताए ।

‘केही दिनअगाडि मैले समर लभलाई पर्दामा हेरेँ, यो पक्कै हो, सिनेमामा कमी कमजोरी भेटिए, त्यसो त सिनेमा बन्दै गर्दादेखि नै ठाउँठाउँमा निर्माण पक्षसित मेरो चित्त नबुझाइ रहँदै आएको थियो, मैले सिनेमाबाट उस्तो धेरै अपेक्षा पनि गरेको थिइन’, सुबिनले लेखेका छन्, ‘कमजोरी हुँदा पनि फिल्मले मलाई छोयो, म हेरिसक्दा भावुक नभइरहन सकिन ।’

उनले समर लभ भावुक प्रेमकथा भएको समेत लेखेका छन् । उनको उपन्यासलाई पर्दामा उतार्ने काम निर्देशक मुस्कान ढकालले गरेका हुन् । फिल्ममा अतीत र सायाको भूमिकामा आशिष पिया र रेवती क्षेत्री देखिएका छन् भने नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतको पनि फिल्ममा भूमिका छ ।

फिल्मको रिलिजअघि राम्रै चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?