महायज्ञमा १० हजार दर्शनार्थी सहभागी

–पर्वतराज घिमिरे

देवघाटधाम विराट् ज्ञानमहायज्ञको चतुर्थ दिन समाप्त भएको छ । यज्ञको दर्शनका लागि देशका विभिन्न क्षेत्रहरूबाट मानिसहरूको आउने–जाने क्रम जारी छ । महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलम् को गौरवमय रजतवर्ष महोत्सवको अवसरमा आयोजित देवघाटधाम विराट् ज्ञानमहायज्ञ – २०७५ लाई अस्ति रातीबाट भएको वर्षाका कारण भक्तजनहरूलाई दर्शनमा कठिनाइ भए तापनि मानिसहरूको आगमन भने बाक्लो नै देखिएको छ ।

महायज्ञमा हिजो नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको आगमन भएको थियो भने आज नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द गिरिजी महाराजको विशेष उद्बोधन रहेको थियो ।

वैदिक संस्कृति र संस्कारको संरक्षण एवं संवर्द्धन तथा संस्कृत शिक्षाको प्रचार प्रसार गर्ने उद्देश्यले वि.सं. २०५० सालमा श्री १००८ डा. स्वामी रामानन्द गिरिद्वारा स्थापित महेश संन्यास आश्रमले १०८ श्रीमद्भागवत पारायण, गायत्री लक्षहवन, शतचण्डी, उखुको रसद्वारा महारुद्राभिषेक, १०८ लाखबत्ती सहितको विराट् ज्ञानमहायज्ञको आयोजना गरेको हो । विराट् महायज्ञको नाममा धेरै यज्ञहरू आयोजना गर्ने गरिए तापनि यो यज्ञ नाम, काम, विधि र व्यवस्था सबै तर्फबाट विराट् रहेको श्रद्धालु भक्तजन एवं बुद्धिजीवीहरूको प्रतिक्रिया प्राप्त भएको छ ।

राष्ट्र्रपतिद्वारा यही माघ २२ गते उद्घाटन भएको यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू दर्शनका लागि आइरहेका छन् । विभिन्न सन्त महात्माहरू, प्रवक्ताहरू, धर्म–संस्कृतिविद्हरू, अवकाशप्राप्त प्राध्यापकहरूलगायत विशिष्ट व्यक्तित्वहरूले यज्ञको दर्शन गरेका छन् । त्रिशूली र कृष्णा गण्डकीको सङ्गम देवघाटधामलाई आदिप्रयागको नामले चिनिन्छ भने पुराणहरूमा प्रयागस्नानको फल देवघाटमै स्नान गर्दा प्राप्त गर्न सकिन्छ भन्ने उल्लेख गरिएको छ । अनादिकालदेखि ऋषिमहर्षिहरूले तपस्या र यज्ञ यागादि गरेको क्षेत्रमा आयोजना गरिएको यो यज्ञ प्राचीन ऋषिहरूले आयोजना गरिएको यज्ञजस्तै भएको प्रतिक्रिया प्रवक्ताहरूले आफ्ना मन्तव्यहरूमा दिएका छन् ।

महेश संन्यास आश्रमको सञ्चालनमा महेश संस्कृत गुरुकुलम्  सञ्चालनमा छ भने त्यहीँबाट उत्पादित १०८ विद्यार्थीहरूले यज्ञमा भागवत पाठ गरिरहेका छन् । महेश संन्यास आश्रमका वर्तमान पीठाधीश एवं यज्ञका मूल प्रवक्ता श्री १००८ स्वामी रमणानन्द गिरिदेखि यज्ञमा पाठपारायण एवं यज्ञ–यागादि गरिरहेका सबै जनशक्ति महेश संस्कृत गुरुकुलकै उत्पादन रहेको कुराले पनि गुरुकुलको २५ वर्षको अवधिको प्राप्तिलाई सङ्केत गरेको विश्लेषकहरू बताउँछन् ।

यज्ञको दर्शनका लागि आएका नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय एवं काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलगायत विभिन्न शैक्षिक निकायका पदाधिकारीहरूले नेपालको मौलिक शैक्षिक परम्पराको संरक्षण एवं संवर्द्धन गर्नका लागि स्थापना गरिएको गुरुकुल साँच्चै सफल भएको बताएका छन् भने यस किसिमका यज्ञहरूको आयोजना गर्नाले वैदिक संस्कृतिमा आस्था र विश्वास राख्ने श्रद्धालुहरूलाई शक्ति प्राप्त हुने र राष्ट्रि्रय संस्कृति एवं संस्कारको जगेर्नामा टेवा पुग्ने विश्वास उनीहरूले प्रस्तुत गरेका छन् ।

यज्ञको दर्शनका लागि नेपाल एवं भारतबाट विभिन्न सन्तहरूको आगमन भइरहेको छ । पतञ्जलि योगपीठका संस्थापक आचार्य बालकृष्णको आगमन तय भएको छ भने सङ्घ एवं प्रदेशका मुख्यमन्त्रीहरू, मन्त्रीहरू लगायत व्यक्तिहरू आउने कार्यक्रम रहेको छ ।  

परोपकारको भावनाले दाताहरूको मुठ्ठीदानबाट सञ्चालित यस आश्रमको अक्षयकोषको वृद्धिका लागि दान दिने दाताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ । संस्थाका संस्थापक ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिजी महाराजको स्मृतिमा आयोजना गरिएको यो यज्ञ अब पाँच दिनसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?