आइटीएफ टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई

पोखरा । पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन् । 

पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधि हात पारेका हुन् । जितसँगै उनले आइटीएफको ३० अङ्क प्राप्त गरेका छन् । दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अङ्क प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन् ।

उनले पनि आइटीएफको ३० अङ्क प्राप्त गरिन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अङ्क आफ्नो खातामा जोडिन् । 

पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हासिल ग¥यो । सो जोेडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ चीनका लि यु लियु र इतोङ झाङको जोडीले चीनकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए । 

डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अङ्क प्राप्त गरे भने दोस्रो हुने जोडीले १३ अङ्क प्राप्त गरेका छन् । विजयी खेलाडीलाई स्थानीय संयोजनकर्ता कास्की जिल्ला टेनिस सङ्घले मेडल पुरस्कार प्रदान गरेको छ ।

खेलाडीलाई सङ्घका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक सङ्घका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?