पञ्चकोटमा एकै दिन हजार पर्यटक

गलकोट । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा करिब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ । 

मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन् ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा शनिबारको फुर्सदिलो समयमा परेको हिउँ तथा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि एक हजार भन्दा बढी पर्यटक आएको स्थानीय गकुल सापकोटाले बताए । 

जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट भएको छ ।

जिल्लाको अधिकांश स्थानमा हिमपात भए पनि जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोट आउन सकिने भएकाले हिउँ खेल्न र घुम्नका लागि आएको पर्यटक राजेन्द्र सुवेदीले बताए । 

वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा दैनिक ४ सय देखि ५ सय सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरे पनि पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । 

स्वामी कमलनयन आचार्य ‘मुक्तिनाथ बाबा’को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि वि.सं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको छ ।

पञ्चकोटमा यही फागुन ९ गते देखि १५ गते सम्म पाँचौ महायज्ञ हुन लागिरहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ । 

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामै अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

तीन वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै २० करोडका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलशको  ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ । 

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ । 

समुन्द्री सतहदेखि एक हजार १ सय मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ । पञ्चकोटलगायत जिल्लाको ढोरपाटन, थामाको नेटा, गाजाको दहमा हिउँ खेल्ने पर्यटकको घुइँचो नै लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?