फुटबलबारे खेलकुद मन्त्री अनभिज्ञ, सहभागि नै नहुने खेलको दिए शुभकामना !

लोकपथ
133
Shares

काठमाडौं । नेपाली खेलकुद क्षेत्र राजनीतिक भागवण्डाका कारण सधैँ हेँलामा पर्ने कुरा नौलो होइन । अझै राजनीतिक खिचातानीको चपेटामा पर्ने गरेको युवा तथा खेलकुद मन्त्रालयको बागडोर सम्हाल्न पुगेका मन्त्रीसँग न खेल क्षेत्रको बारेमा ज्ञान हुन्छ न त यसको स्तरोन्नती गर्ने भावी योजना नै ।

उसो त सधैं अपरिपक्व व्यक्तिहरुको पोल्टामा पर्दै आएको छ यो मन्त्रालय । जसकारण कहाँ के अभिव्यक्ति दिने भन्नेबारेसमेत खेलकुद मन्त्री जानकार रहँदैनन् ।

हो, यस्तै अभिव्यक्तीका कारण युवा तथा खेलकुद मन्त्रीको अपरिपक्वताको भण्डाफोर भएको छ । प्रसंग हो, मंगलबार सोल्टी होटलमा आयोजित फुटबल संघको कार्यक्रमको । कार्यक्रमको प्रमुख अतिथि थिए युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु ।

बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम कार्यतालिका अनुसार नै अघि बढ्दै थियो । खेलकुद मन्त्री लिम्बुले जब आफ्ना मन्तब्य राखे त्यसपछि खेलाडीहरुले त लज्जा बोध गरे भने तमाम खेलकुद क्षेत्र नै निराश बन्यो ।

मन्त्री लिम्बुले कार्यक्रममा भनेका थिए, ‘अष्ट्रेलिया, न्युजिल्याण्डमा खेल्न जाने क्रममा हुनुहुन्छ । जितेर आउनुुहुन्छ भन्नेमा पूर्ण विश्वास्त छु । उच्च मनोबलका साथ खेल्नु होला । शुभकामना !’

अष्ट्रेलियामा बिहीबारदेखि महिला विश्वकप शुरु हुन लागेको छ । विश्वकप छनोट खेलमा समूहचरणबाटै बाहिरिएको महिला टोली विश्वकपमा सहभागि हुँदै छैन भन्नेसम्म मन्त्रीलाई थाहा नहुँदा उनको अपरिपक्वताको पर्दाफास भएको हो ।
त्यस्तै, मन्त्रीले भनेअनुसार महिला फुटबल टोली न्युजिल्याण्ड जाने कार्यक्रम पनि नरहेको एन्फाका प्रवक्ता सुरेश शाहले लोकपथलाई जानकारी दिए ।

खेलकुद मन्त्रालयकै मन्त्रीलाई नेपालले के–कस्ता प्रतियोगितामा सहभागिता जनाउँदै छ भन्ने कुरा थाहा नहुनु दुःखको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?