मोदी अरुणाञ्चल प्रदेश जाँदा चीनको आपत्ति

दिल्ली – भारतमा नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी अभियानका लागि शनिवार अरुणाञ्चल प्रदेश पुगे । यो विषयलाई लिएर चीनले गम्भीर आपत्ति जनाएको छ । चीनले यो विषयलाई लिएर शनिवार नै विवादित विषय भएकाले कुनै पनि प्रकारका विषयले सीमाको विषय झन् जटिल बन्ने भन्दै टिप्पणी गरेको थियो ।

चीनले भारतलाई यो प्रदेशमा कुनै पनि गतिविधि नगर्न समेत भारतलाई आग्रह गरेको छ ।

प्रम मोदीले शनिवार उक्त प्रदेश पुगेर ४ हजार करोडको परियोजनाको शिलान्यास गर्दै सीमावर्ती राज्यहरुलाई आफूले प्राथमिकतामा राखेको समेत बताएका थिए । उनले सम्बोधनका क्रममा यो क्षेत्रमा हाइवे, रेलवे, हवाई मार्गका लागि पनि ध्यान दिने बताएका थिए ।

साथै उनले उक्त सम्बोधनमा भारतका सरकारले पहिले यो क्षेत्रको उपेक्षा गरेको आरोप समेत लगाए । उक्त क्षेत्रमा मोदीको सक्रियतालाई लिएर चीनले आपत्ति जनाएको हो ।

यता मोदीको विवादपछि उत्पन्न भएको विवादपछि बोल्दै चिनकी विदेश प्रवक्ता हु चुन्यिंगले बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीन र भारतको सीमा विवादका बारेमा आफूहरुको अडान पहिलेको जस्तै भएको बताइन् ।

चीनले अरुणाञ्चल प्रदेशलाई मान्यता दिएको छैन भने भारतका नेताहरु चुनाव प्रचारका लागि यो क्षेत्रमा पुग्ने गरेका छन् ।

यो क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै आएको छ भने भारतले यो क्षेत्रलाई आफ्नै देशको प्रदेशका रुपमा हेरेको छ । यस विषयमा भारत र चीनबीच पटकपटक वार्ता समेत भएका छन् तर अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?