महिला गोल्डकप फुटबल : भारतविरुद्धको खेल नेपाललाई जित्नै पर्ने दवाव

काठमाडौं । जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतको सामना गर्दैछ । 

यी दुई टिमबीचको खेल उडिसास्थित कालिङगका रंगशालामा नेपाली समयानुसार आज बेलुकी सवा ७ बजेपछि शुरु हुनेछ । घरेलु टोली भारतविरुद्धको खेलमा नेपाल पहिलो जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३-० पराजित भएको थियो । आजको खेलमा नेपाललाई जित्नै पर्ने दवाव रहेको छ । भारतविरुद्धको खेलमा पनि आज पराजित भएको खण्डमा नेपाल अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना न्युन रहने छ । 

यसअघि इरानलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको भारत दोस्रो जित निकाल्ने दाउमा रहेको छ । 

त्यस्तै आजै हुने अर्को खेलमा म्यान्मारले इरानको सामना गर्दैछ । प्रतियोगितामा भारत र म्यान्मारले एक-एक खेलमा जित निकालेको छ । राउण्ड रोबिन लिगको आधारमा खेलाइएको खेलमा नेपालले फागुन १ गते इरानको सामना गर्नेछ । 

आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई मध्यनजरमा राख्दै नेपाली महिला टिमले यो प्रतियोगिता खेल्न लागेको हो । 

नेपाली टिममा गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मन माया लिम्वु रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?