काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौं आएका थिए ।
४० वटा राडी लिएर काठमाडौं आएका गुरुङले पुरै बेच्न लागे । ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन् ।
वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउँछन् । हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन् । उनही मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन । राडी बेच्न भने यनी विभिन्न शहर नै धाउँछन् ।
‘पन्ध्र÷सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ’, गुरुङले भने ।
गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । ‘बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ’, उनले थपे ।
गुरुङ राडी बेच्न काठमाडौं, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुग्ने गरेको समेत बताए । साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन् । गुरुङ राडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेको समेत बताए ।
‘वार्षिक १२ लाखसम्म कमाइ हुन्छ”, उनले भने । त्यही पैसाबाट उनले राडी बनाउन ऊन किन्ने गरेको समेत बताए । राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको गुरुङले बताए । गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ ।
युवापुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ । बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनमा छ । ‘विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ’, उनले थपे ।
राडी बनाउन भेडाको ऊन किन्न टाढा-टाढासम्म पुग्नुपर्ने हुन्छ । केही वर्ष पहिलेसम्म उनको गाउँमै भेँडापालन गरिन्थ्यो । गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ ।
सामुदायिक वनमा खुला रूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए । भेँडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपासजस्तै गरेर फिट्नु पर्छ । त्यसपछि डोरीजस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ ।
एउटा परिवारका पाँच÷छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ । युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको सङ्ख्या घट्दै गएको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया