६ सय ६२ सहसचिवको समायोजन

काठमाडौं ।  सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए ।

उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए । उनका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको बताए ।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराए । 

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उनले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सात ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ०३ कर्मचारी समायोजन गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?