कलाकारको पारिश्रमिक बढ्ने, फिल्मको क्वालिटी नबढ्ने !

काठमाडौं – नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि पछिल्लो समय एकपछि अर्को फिल्म बनिरहेको बाहिरबाट हेर्दा यो क्षेत्रको विकास तीब्र रुपमा भइरहेको हो कि भन्ने धेरैलाई लाग्छ । तर, वास्तविकतामा नेपालमा फिल्म क्षेत्र लामो समयदेखि स्थिर छ । भइरहेका नयाँ प्रयोगहरुले सफलता पाउन सकिरहेका छैनन् ।

पछिल्ला केही वर्षलाई मात्र तुलना गर्ने हो भने नेपाली फिल्मको लगानी झण्डै दोब्बर पुगेको छ । पहिले ६० लाखमा बन्ने तयार हुने फिल्मको व्यापार अहिले डेढ करोडभन्दा बढी पुग्ने गरेको छ । यसरी हेर्दा फिल्ममा कलाकारको पनि पारिश्रमिक समयानुकुल हुनुपर्ने हो । त्यही अनुसार फिल्मको पनि स्तर वृद्धि हुनुपर्ने हो । तर फिल्मको स्तरमा भने परिवर्तन आउन सकेको छैन ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले कलाकारको पारिश्रमिक बढ्दा फिल्मको बजेट महंगो पर्न गएको बताउँछन् । उनका अनुसार चलेका कलाकारले पारिश्रमिकमा ‘हाइ डिमान्ड’ गर्दा फिल्मको बजेट महंगो पर्न जान्छ । तर, बजार छैन ।

त्यसो त चलेका कलाकारले अभिनयबाट निर्माताबाट महंगो रकम असुले पनि ती कलाकारलाई लिएर निर्माण गरेको फिल्म चल्छ नै भन्ने छैन । किनकि, चल्तीका भनिएका कलाकारले पनि अभिनयमा कुनै सुधार गर्न नसकेको निर्माताहरु बताउँछन् । यद्यपि बजारको मागलाई हेरेर चल्तीका कलाकारलाई लिनुपरेको निर्माताहरुको भनाइ छ ।

केही वर्षलाई समीक्षा गर्ने हो भने पनि महंगो पारिश्रमिक लिने फिल्महरु आशा गरिएअनुरुप चल्न सकेनन् । युवास्टारमध्ये महंगो पारिश्रमिक लिने अभिनेता पल शाहका सिंगल हिरोइज्म भएका प्रायः फिल्म असफल रहे । उनी अभिनित फिल्म ‘जोनी जेन्टलमेन’ लाई दर्शकले रुचाउने आँकलन गरिएको थियो । तर, फिल्म चलेन ।

अहिलेका सबैभन्दा मंहगा र लोकप्रिय अर्का अभिनेता  अनमोल केसीको फिल्म ‘कृ’ ले पनि दर्शकको अपेक्षित साथ पाउन सकेन । यद्यपि निर्माण टिमले भने फिल्मले बजेट सुरक्षित गरेको दावी गरिरहेको छ । तुलनात्मक रुपमा यो फिल्मको बजेट महंगो पनि थियो । यो फिल्मलाई नेपालकै महंगो फिल्म भनेर समेत प्रचार गरिएको थियो ।

महंगो पारिश्रमिक लिने अभिनेतामा पर्छन्, अर्का अभिनेता प्रदीप खड्का । प्रदीपले फिल्म ‘रोज’ का लागि महंगो पारिश्रमिक लिएर फिल्ममा अभिनय गरेका थिए । रिलिजअघि फिल्मले चर्चा पनि राम्रो पाएको थियो । प्रदीपको लूकदेखि लिएर कथा विवादका कारण यो फिल्म चर्चामा रह्यो । चर्चामा रहने अर्को कारण थियो, प्रदीपले लिएको महंगो पारिश्रमिक ।

तर, फिल्म फ्लप भयो । हेरेका दर्शकले समेत प्रदीपलाई गाली गर्न थाले । फिल्मको कथा दर्शकलाई रिझ्नका साटो बिझ्न थाल्यो ।

नायिका तथा निर्मात्री ऋचा शर्मा भने कलाकारको पारिश्रमिक र फिल्म चल्नु दुई फरक कुरा भएको धारणा राख्छिन् । ‘कलाकारको पारिश्रमिक फरक कुरा हो, निर्माताले कलाकारको उहाँहरुको मार्केट हेरेर महंगो पारिश्रमिक दिने कुरा हो, कलाकारले आफ्नो कामको प्रदर्शन गर्ने कुरा हो’, उनी अगाडि थप्छिन्, ‘स्किृप्टमा आत्मा नै छैन भने कलाकारलाई दोष दिएर पुग्दैन ।’

निर्माता माधव वाग्लेको बुझाइ भने अलिक फरक छ । उनका अनुसार बजारमा आएका नयाँ निर्माताले फिल्मको बजार नबुझेर कलाकारको रेट बिगारेको बताउँछन् । ‘नयाँ मेकर आएर लगानी बढाइरहेका छन्, नयाँ निर्माताले नबुझी फिल्ममा लगानी गर्दा मार्केट बिगारेका छन्, चलेका कलाकारलाई पचास लाख दिएर बजारबाट कसरी लगानी उठाउने भन्ने उनीहरुलाई थाहा छैन’, वाग्ले भन्छन्, ‘यहाँ निर्माताहरु आफै मूर्ख बनेका छन् ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?