अन्तर्राष्ट्रिय रेस्लिङ रिङमा मुकाबला गरेकी भगवती खड्काको रेस्लरदेखि कोचसम्मको यात्रा (भिडियो सहित)

५ फिट नौ इन्च उचाइ, खाइलाग्दो ज्यान । हेर्दा सामान्य छोरी मान्छेभन्दा फरक देखिन्छिन् भगवती खड्का । उनी  नेपालकै पहिलो महिला रेस्लर हुन् । शारीरिक बनावटकै हिसाबले पनि महिला रेस्लर हुन ठ्याक्कै सुहाएको छ, उनलाई । 

समाजले छोरी मान्छेले गर्न नसक्ने भनेर छुट्याइदिएको प्राय सबै काम गर्ने सामथ्र्य राख्छिन् उनी । बाइक कुदाउने, स्टन्ट गर्ने, भारतौलन, रेस्लिङ जस्ता क्रियाकलापमा रमाउने भगवती भन्छिन्, ‘छोरी मान्छेसँग बल नभएको होइन, साहस नभएको हो’।

भगवती भन्छिन्, ‘छोरी मान्छेसँग बल नभएको होइन, साहस नभएको हो’।

गायिका बन्न रामेछापको सानो गाउँबाट काठमाडौं आएकी भगवती खड्का अहिले रेस्लिङ क्षेत्रमा सक्रिय छिन् । खेलाडीका रुपमा मात्रै नभएर कोचका रुपमा पनि उनी  नेपाली महिला रेस्लिङको स्तरोन्नतिमा लागिपरेकी छिन् । नेपाल वुमेन रेस्लिङ फाउन्डेसन मार्फत् उनले नेपालको विभिन्न क्षेत्र विशेषतः ग्रामीण भेगका युवतीहरुलाई रेस्लिङको प्रशिक्षण दिइरहेकी छिन् ।

 

केही नेपाली सिनेमा र सिरियलमा खलनायिकाको भूमिका निर्वाह गरिसकेकी उनले अहिले भने आफ्नो सम्पूर्ण समय रेस्लिङलाई नै दिइरहेकी छिन् ।

नेपालका विभिन्न ठाउँमा रेस्लिङ शो गर्ने र टेलिभिजन शो समेत गर्ने योजना बनाएकी भगवती अहिले त्यसैको तयारीमा लागिपरेकी छिन् ।

उनले अमेरिका लगायत विभिन्न देशका रेस्लरसँग रिङमा मुकाबिला गरिसकेकी छिन् ।

पैसा कमाउन नसकेपनि आफूले कमाएको सम्मान र पुरस्कारहरु हेर्दा सन्तुष्ट महसुस गर्छिन् उनी । उनलाई साहसबाट मिलेको खुसी निकै लोभलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?