गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान : ‘धुर्मुस सुन्तली साँझ’बाट ३५ लाख सङ्कलन

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।  

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् ।

उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी ३५ लाख सङ्कलन गरेका छन् । 

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिए । 

रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उनीहरु मलेसियामा छन् । कट्टेलका अनुसार नेपाली समुदायबाट  २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट १५ लाख गरी ३५ लाख ७१ हजार सङ्कलन भएको हो । 

अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो । 

मलेसियापछि अन्य मुलुकमा पनि त्यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गरे । ‘रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ, मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छौँ ।’

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो ।

हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयारीको काम भइरहेको छ भने महीनाभित्र 'डिपिआर' तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको छ। 

तीन महीनाअघि धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुर महानगरलाई रङ्गशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो । यसबीचमा फाउण्डेशनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललगायतले सो स्थानको अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए । 

दुई साताअघि काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

धुर्मुस–सुन्तली फाउण्डेशनले यसअघि ललितपुरको गोदावरीमा रङ्गशाला बनाउने प्रक्रिया शुरु गरेको थियो तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहरु चितवनमा लागेका थिए ।

भरतपुर महानगर आफैँले पनि धुर्मुस–सुन्तली फाउण्डेशनलाई क्रिकेट रङ्गशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताएको थियो । 

अध्यक्ष कट्टेलले एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटका लागि आवश्यक रङ्गशाला छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । ‘धेरै ठूलो परियोजना हो, हामीले आफैँले बनाउने आँट गरेका छौँ तर सरकार वा महानगरबाट सहकार्यका लागि प्रस्ताव भएमा हामी सहकार्य गर्नेछौँ”, कट्टेलले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?