‘डीपीएल’ क्रिकेट : डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सको लगातार तेस्रो हार

काठमाडौं । डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सले जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटमा लगातार तेस्रो हार बेहोरेको छ । 

फाप्ला क्रिकेट मैदानमा बुधवार भएको दोस्रो खेलमा धनगढी विराटनगर किङग्ससँग २१ रनले पराजित भएको हो । एक सय ४ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको धनगढीको पारी १९ ओभरमा सबै विकेटको क्षतीमा मात्र  ८२ रनमा समेटिएको थियो ।

धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन जोडे । धनगढीको पारी ध्वस्त पार्ने क्रममा विराटनगरका अभिनास यादव र करण केसीले समान ४-४ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि अभिनास यादवले २७ रन, कप्तान करण केसीले २१ रन, आसिफ शेखले १२ रन तथा संसद शेखले ११ रन जोडे । 

धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले समान ३-३ विकेट हात पारे । यो हारसँगै धनगढीको प्ले अफमा पुग्ने सम्भावना न्युन बनेको छ । यसअघि धनगढी काठमाडौं र अत्तरियासँग पराजित भएको थियो । 

यता विराटनगरले भने पहिलो जित हात पारेको छ । जितपछि विराटनगरले २ खेलबाट २ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?