नेपालमा पहिलोपटक महिला लिग क्रिकेट हुने

काठमाडौं । नेपालमा पहिलो पटक महिलाको क्रिकेट लिग हुने भएको छ । 

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिले नेपालमा पहिलो पटक महिलाको क्रिकेट लिगको आयोजना गर्न लागेको हो । 

प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहनेछ । 

‘पहिलो सिजन पाँच शहरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्, यसमा पुरुषकै जस्तो महिला खेलाडीका लागि पनि व्यावसायिक बनाउने प्रयास रहने छ”, लामाले भने ।  

प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेको केही समयपछि जानकारी दिने उनको भनाइ थियो । प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट लिलाम बढाबढ ‘अक्सन’बाट गर्ने वा नगर्ने भन्ने जानकारी समेत केही दिनमै सार्वजनिक गर्ने तयारी छ । 

कार्यक्रममा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टोलीमा राम्रो सन्देश प्रवाह हुने बताए । राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो फड्को मार्न सक्ने बताए । 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको उल्लेख गरे । महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको बताइन् । 

प्रतियोगिताको शहर, टोली र खेल तालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने लामाको भनाइ छ । यसअघि क्विन्स इभेन्ट म्यानेजमेन्टलले पोखरा प्रिमियर लिग ‘पिपिएल’ सफलतापूर्वक आयोजना गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?