अभ्यासबाटै खेल स्तरलाई निखारेका छौँ : मुख्य प्रशिक्षक दाश

काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक विनोद दाशले ‘आइसीसी’ महिला विश्वकप क्रिकेट छनोटमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । 

प्रशिक्षक दासले नेपाली खेलाडीहरु शारीरिक तथा मानसिक रुपमा बलियो रहेको समेत जानकारी दिए ।

‘नेपाली टिमलाई अहिले खासै खेलको प्रेसर छैन, किनभने हामीसँग अभ्यासको लागि जति समय थियो, त्यहि अनुरुप अभ्यासबाटै खेल स्तरलाई पनि निखारेका छौँ, नेपाली टिमभित्र देखिएका कमि कमजोरीलाई सुधार गर्दै पनि लगेका छौँ’, उनले लोकपथलाई भने । 

साथै उनले १५ दिनको बन्द प्रशिक्षणले नेपाली खेलाडीलाई केही हदसम्म खेलमा सुधार गर्ने मौका पाएको समेत बताए ।

उनले भने, ‘हामी पनि खेल जित्नकै लागि खेल्न जाने हो, तर, अन्तर्राष्ट्रिय मैदानमा निकालेको नतिजाले नेपालको खेल क्षमता देख्छौँ, त्यतिबेला नै नेपाली खेलाडीको मेहेनत पनि देख्छौँ ।’ 

प्रशिक्षक दासका अनुसार नेपालले एशिया छनोट खेलमा हराउन नसक्ने कुनै टिम नभएको जानकारी पनि दिए ।

‘खेलाडी राम्रो खेल खेल्यो भने अवश्य नतिजा पनि राम्रै आउँछ, तर अन्य टिमको तुलनामा नेपाली टिमले अझ उत्कृष्ट खेल खेल्ने प्रयार गर्नेछ’, उनले लोपकथलाई बताए ।

नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद कायमै रहँदा एको बेला नेपाली पुरुष र महिला टिमले निकालेको नतिजा प्रशंसाजनक रहेको समेत उनले बताए । ‘नेपालमा क्रिकेट खेलेरै बाच्छु भन्दा गाह्रो छ, ‘वान डाइमेन्सन’ व्यक्ति हुने जमाना अहिले छैन’, प्रशिक्षक दाशले बताए । 

यता नेपाली टिमकी कप्तान रुबिना क्षेत्रीले पनि तयारी राम्रै भएको प्रतिक्रिया दिइन् । ‘हामीहरुले डिसेम्बरदेखि बन्द प्रशिक्षणमा बसि राखेका छौँ, दुई महिनाको अवधिमा तयारी पनि राम्रो भइरहेको छ, एशिया छनोट खेल खेल्न हामी उत्साहित पनि छौँ’, उनले बताइन् । 

नेपाली टिमको प्रर्दशन विगत पाँच वर्षदेखि खस्किएको समेत उनले बताइन् ।

‘थाइल्याण्डमा सम्पन्न भएको टी-ट्वान्टी महिला क्रिकेटको उपविजेता बनेपछि नेपाली टिमको मनोबल उच्च बनेको छ’, उनले भनिन् । घरेलु मैदानमा महिला टिमको लागि खासै प्रतियोगिता खेलाइदैन । पुरुष टिमको तुलनामा महिला खेलाडीलाई सरकारले प्राथमिकता नराखेमा कप्तान क्षेत्रीले दुखेसो पोखिन । 

‘महिला खेलाडीहरुले विगत दुई वर्षदेखि आ-आफ्नै तरिकाले तयारी गरिरहेको छ, हामीहरु आ-आफ्नो तरिकाले कहिले भारतमा, कहिले बंगलादेशको क्लबसँगै मैत्रीपूर्ण खेलहरु खेल्दै तयारी गरिरहेका छन्, सबैजनाले आ-आफ्नो घरमा गरेको तयारीले नै आज यो नतिजा नेपाली टिमले हात पारेको हो’, उनले बताइन् । 

साथै उनले जित्छौँ भनेर खेल्दा खेलमा बढी तनाव उत्पन्न हुने पनि जानकारी दिइन् । ‘हामी खेल जित्छौँ भनेर खेल खेल्नु भन्दा पनि राम्रो खेल्छौँ भनेर मैदानमा उत्रने तयारीमा छौँ, अगाडि नै जित्छौँ भनेर खेल्दा बढी तनाव हुन्छ, सबै जनाले आफ्नो स्केल अनुसार खेल प्रदर्शन गर्नेछौँ’, कप्तान क्षेत्रीले भनिन । 

आगामी सन् २०२० मा आयोजना हुने महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्दी मलेसिया सामना गर्नेछ । त्यस्तै दोस्रो खेल नेपालले फेब्रुअरी २१ तारिखमा आयोजक थाइल्याण्डको सामना गर्नेछ ।

२२ तारिखका संयुक्त अरब इमिरेट्स ‘युएई’को, २४ तारिखमा हङकङको, २५ मा चीनको तथा २७ तारिखमा कुवेतसँग भिड्ने खेल तालिका रहेको छ । 

एशिया छनोट खेलमा नेपालसहित ७ राष्ट्र सहभागि छन् । छनोटमा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोट खेलको विजेताले टी-ट्वान्टी विश्वकप छनोट र महिला विश्वकप क्रिकेटमा स्थान तय गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?