बलात्कार गर्दागर्दै रङ्गेहात पक्राउ : तर अदालतले भनिदियो- ‘लेनदेनको विवाद’

९० लाखको जग्गा बेचेर छुटेको पीडित परिवारको आरोप

Ramesh Jamkatel
2.2k
Shares

१३ वर्षीय नाबालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा छिमेकीले देखेर कराएपछि रंगेहात पक्राउ परेका अभियुक्तलाई धादिङ जिल्ला अदालतले बलात्कारको मुद्दाबाट सफाई दिएको छ । हाडनाताभित्र नातामा दाइ पर्ने व्यक्तिले १३ वर्षीय नाबालिकलाई बलात्कार गर्दैगर्दा फेला परे पनि धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले आरोपितलाई सफाई दिएको हो ।

२०७८ मंसिर २० गते धादिङ जिल्ला अदालतमा दर्ता भएको हाडनातामा जबरजस्ती करणीको मुद्दामा न्यायाधीश पराजुलीले बलात्कारको मुद्दाबाट सफाई दिँदै बाल यौन दुरुपयोगमा परिणत गरेका हुन् । बलात्कारलाई बाल यौन दुरुपयोगमा परिणत गर्दा पनि न्यायाधीश पराजुलीले लेनदेनको विवादले पैसा नतिर्ने उद्धेश्य राखी ‘फसाएको’ भन्दै फैसलामा गम्भीर कैफियत देखाएका छन् ।

भएको के थियो ?

२०७८ साल असोज ११ गते बिहान ११ बजे निर्मला खान (परिवर्तत नाम) घरमा बसिरहेको अवस्थामा नातामा दाजु पर्ने ५५ वर्षीय शंकर खान (नाम परिवर्तन)ले १३ वर्षीय बालिकालाई चटपट खान ५० रुपैयाँ दिने प्रलोभन देखाई पीडितकै घरमा जबरजस्ती करणी गरे । बालिका र ती व्यक्ति पीडितकै एक तले घरमा छिरेको देखेकी पीडितकी ठूलीआमाले उनीहरु लामो समयसम्म पनि बाहिर ननिस्केपछि ‘तिमीहरु यहाँ के गर्दैछौ’ भनेर बाहिरबाटै कराइन् । त्यहाँ हल्लाखल्ला भएपछि पीडित र प्रतिवादी कोठाबाट बाहिर निस्किए । बाहिर निस्किएलगत्तै गाउँलेहरुले प्रतिवादीलाई नियन्त्रणमा लिएर सोधपुछ गरे । प्रतिवादीले सबैको सामु बलात्कार गरेको स्वीकार गरे र गल्ती भएकाले जे सजाय दिए पनि हुने भन्दै माफी मागे ।

बलात्कार गर्ने व्यक्ति र बलात्कृत हुने बालिका हाडनातामा पर्ने भएकाले आफन्तकै दबावमा सुरुमा घरछिमेकमै मिलाउने कोशिस भयो । त्यसका लागि केही दिन प्रयास पनि भयो । गाउँले र परिवारका सदस्यहरुले मिल्न दबाव दिए, आर्थिक प्रलोभन देखाएर पैसामा केस मिलाउन पनि खोजियो । पीडकपक्षले डर र धम्की दिएर जाहेरी दिनबाट रोक्ने धेरै प्रयास ग-यो । तर पीडितकी दिदी असहमत भई पीडित पनि जाहेरी दिन तयार भएपछि २०७८ कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा पीडितकी दिदीको तर्फबाट हाडनातामा जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भयो ।

जाहेरीमा पीडितकी दिदीले भनेकी थिइन्, ‘म जाहेरवालाको बहिनी बर्ष १३ की (परिवर्तित नाम) धादिङ २४(४९)०७८।०७९ मिति २०७८।६।११ गते बिहानको अन्दाजी ११ बजेको समयमा घरमा एक्लै बसिरहेको अवस्थामा प्रतिवादी परिवर्तित नाम धादिङ २४(५१)०७८।०७९ आई फकाई फुल्याई गरी चटपटे खाने पैसा दिन्छु भनी घर कोठाभित्र लगी खाटमा लडाई बहिनीको मुख थुनी चिच्याउन कराउन नदिई बहिनीको सुरुवाल खोली बहिनीलाई जबरजस्ती करणी गरी यो कुरा कसैलाई पनि नभन्, भनिस् भने मारिदिन्छु भनी धाकधम्की समेत दिई गएको भनी पीडित बहिनीले बताएकी हुँदा निजलाई पक्राउ गरी कानून बमोजिमको कारबाही गरी पाउँ ।’

पीडितकी दिदीबाट हाडनातामा जबरजस्ती करणीको जाहेरी आएसँगै जिल्ला प्रहरी कार्यालय धादिङले प्रतिवादीलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु ग-यो । जाहेरी परेको भोलिपल्ट नै प्रहरीले घटनास्थल मुचुल्का तयार पारी अनुसन्धान सुरु ग-यो । जाहेरी परेको चारदिनपछि प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण गरायो । त्यसपछि प्रहरीले पीडित बालिका, उनको परिवारका सदस्यहरु, घटना भएको समयमा देख्ने बालिकाकी ठूलीआमा लगायत अन्य साक्षीको बयान लिएर २०७८ मंसिर २० गते धादिङ जिल्ला अदालतमा मुद्दा दायर भयो । मुद्दा दायर भएको भोलिपल्ट अर्थात् २०७८ मंसिर २१ गते भएको थुनछेक बहसपछि अदालतले शंकर खानलाई तत्काल प्राप्त प्रमाणहरु निर्दोष हुन् भन्ने नदेखिएको भन्दै थुनामा पठाउने आदेश दियो ।

अधिकारप्राप्त अधिकारीसमक्ष प्रहरीले गराएको बयानमा पीडितले यस्तो भनेकी थिइन्,

‘प्रतिवादी परिवर्तित नाम धादिङ २४ (५१) ०७८।०७९ ले मलाई अन्दाजी ३–४ वर्ष पहिलाबाट विभिन्न किसिमका बाहना बनाई कहिले काहीँ निजको मोबाईलमा विभिन्न किसिमका ब्लु फिल्महरु तथा गीतहरुको भिडियो समेत देखाई मेरो सम्वेदनशील अंग स्तन लगायतका शरीरको विभिन्न भागमा समाउने गर्दै आएकोमा मिति २०७८।६।११ गते बिहानको अन्दाजी ११ बजेको समयमा समेत म घरमा एक्लै बसिरहेको अवस्थामा निज प्रतिवादी आई तलाई चटपटे खाने पैसा दिन्छु भनी मेरो घर कोठाभित्र लगी ढोकाको चुकुल लगाई एक्कासी मलाई खाटमा लडाई मेरो मुख थुनी चिच्याउन कराउन नदिई सुरुवाल खोली जबरजस्ती करणी गरी ‘यो कुरा कसैलाई पनि नभन्, भनिस भने मारिदिन्छु’ भनी धाकधम्की समेत दिई पचास रुपैयाँ पैसा समेत दिई गएका हुन् ।’

मौकाको बयानमा प्रतिवादी शंकर खानले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए । मौकाको बयानमा उनले भनेका थिए,

‘पीडित परिवर्तित नाम धादिङ २४(४९)०७८।०७९ को बाबुको हजुरबाबु र मेरो बाबुको हजुरबाबु दाजु–भाइ हुन् । हामी चार पुस्ता भित्रको नातामा पर्छौ । हामीहरुको घर एकै स्थानमा रहेको छ । आज भन्दा अन्दाजी ३–४ वर्ष पहिला पनि मैले पीडितलाई मोबाईलमा विभिन्न किसिमका गीतहरु ब्लु फिल्म समेतको भिडियो देखाउँदै पटक पटक निजको संवेदनशील अंग स्तन समाउने खेलाउने गर्दै आएकोमा मिति २०७८।६।११ गते बिहान अन्दाजी ११ बजेको समयमा समेत म पीडितको घरमा पुग्दा पीडित मात्र एक्लै बसिरहेको अवस्थामा देखेपछि पीडितलाई करणी गर्नु प-यो भनी योजना बनाई पीडितको घरकोठामा गई निजलाई बोलाई चटपटे खाने पैसा दिन्छु भनी फकाई खाटमा सुताई निजकै सहमतिमा एक पटक करणी गरेको हुँ । मैले निजलाई करणी गर्दा आफ्नो उत्तेजित लिङ्ग पीडितको योनीभित्र पसाई दुई चार पटक भित्र बाहिर गरी वीर्य तन्नामा झारी यौन आनन्द लिएको हुँ । करणी गरिसकेपछि मैले निजलाई यो कुरा कसैलाई पनि नभन्नु भन्दै पचास रुपैयाँ पैसा दिई गएको हुँ ।’

जब यो मुद्दा अदालतमा पुग्यो, तब वकिलको प्रवेश भएलगत्तै पीडकले भने आफ्नो बयान फेरे । अदालतमा बयान गर्ने क्रममा भने प्रतिवादी शंकर खानले आफूले जबरजस्ती करणी नगरेको बरु लेनदेनको विवाद भएकाले रिसले आफूविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराइएको बयान दिए ।

अदालतमा बयान दिने क्रममा शंकरले भनेका छन्,

‘पीडित परिवर्तित नाम धादिङ २४ (४९) ०७८।०७९ को बाबुको हजुरबाबु र मेरो बाबुको हजुरबुबा दाजु–भाइ हुन् । हामी चार पुस्ता भित्रको नातामा पर्छौँ । हामीहरुको घर एकै स्थानमा रहेको छ । २ वर्ष अगाडि पीडितको घर बनाउँदा पीडितको आमाले ऋण स्वरुप पैसा मागेकोले मैले रु. १५,००० पैसा दिएको थिएँ । उक्त रकम हालसम्म फिर्ता नगरेकोले २०७८ सालको दशैं खर्चको लागि उक्त पैसा मागेको थिएँ । निजले पैसा नदिएपछि पीडितको आमा र मेरो सामान्य झगडा भएको थियो । दोस्रोपटक पैसा माग्दा पनि निजसँग झगडा परेकोले सोही कारण मैले पीडितलाई जबरजस्ती करणी गरेको भनी जाहेरवालाले उजुरी दिएको हो । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । जाहेरी व्यहोरा ठीक होइन । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । घटना विवरण कागज व्यहोरा ठीक होइन । अनुसन्धान अधिकृत समक्षको बयान व्यहोरा मैले नै भनेको हुँ र त्यसमा भएको सहीछाप मेरो हो । प्रहरीमा यातना दिई जबरजस्ती कसूर स्वीकार गर्न लगाएकोले मैले जबरजस्ती करणी गरेको हुँ भनी भनेको हुँ । मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन मलाई सजाय हुनु पर्ने होइन ।’

तर जाहेरवाली, पीडित बालिका तथा अन्य साक्षीहरुले अदालतमा बयान गर्दा पनि प्रतिवादीले जबरजस्ती करणी गरेको मौकाको बयानलाई नै समर्थन हुने गरी बयान दिएका छन् ।

अदालतमा बयान दिने क्रममा पीडित बालिकाले पहिलेको बयानमा सामान्य फरक परेको भएपनि मुख्य विषयमा फरक पारेकी छैनन् । अदालतको बयानमा उनले भनेकी छिन्,

‘मिति २०७८।७।२६ गतेको घटना विवरण कागजमा भएको व्यहोरा र सहीछाप मेरो हो । प्रतिवादी परिवर्तित नाम धादिङ २४ (५१) ०७८।०७९ नाताले दाजु पर्छ । निज प्रतिवादीले अन्दाजी ४–५ वर्ष अगाडिदेखि मेरो घरमा कोही नभएको मौका पारी आई मलाई निजको आफ्नो मोबाइलमा अश्लील भिडियोहरु देखाई मेरो स्तन लगायत संवेदनशील अंगमा छुने गरेकोमा बारदात भन्दा पहिले पनि २ पटकसम्म मेरो घरमा कोही नभएको म एक्लै भएको मौका पारी प्रतिवादी आई मलाई ब्लु फिल्म देखाई सो फिल्ममा गरेजस्तो गरी आफ्नो र मेरो कट्टु खोली म माथि चढी जबरजस्ती करणी गरेको हो । सोही क्रममा अन्तिम पटक मिति २०७८।६।११ गतेका दिन निजले मलाई आफ्नो घरमा बोलाएकोमा किन भनी म निजको घरमा जाँदा निज प्रतिवादीले आफ्नो कोठामा मलाई लगी झ्याल ढोकाको चुकुल लगाई आफ्नो मोबाइलमा ब्लु फिल्म देखाउँदै निजले मेरो छाती समाउँदै मेरो र उसको कपडा खोली मलाई जबरजस्ती करणी गर्न लाग्दा मेरो ममीले मलाई बोलाएपछि निजले जबरजस्ती करणी गर्न नपाएको हो । निज प्रतिवादीले मलाई पैसा दिएको भन्ने साँचो होइन । प्रतिवादीले उक्त कार्य गरेको मैले कसैलाई पनि जानकारी गराएको थिइन । मिति २०७८।६।११ को घटना माथिको ठूलोममीले देखेर थाहा पाएको हो । मैले कसैलाई भनेमा मारिदिने धम्की समेत दिएको थियो । वारदात पश्चात खान मन नलाग्ने, निद्रा नलाग्ने र एकोहोरो टोलाउने भएको छु ।’

पीडित १३ वर्षीय बालिकाको बयानपछि उनकी ठूलोममीले अदालतमा दिएको बयानमा पनि करिबकरिब उस्तै प्रकृतिको बयान छ । बयानमा उनले भनेकी छिन्,

‘मिति २०७८।६।११ गते बिहानको अन्दाजी ११ बजेको समयमा जिल्ला धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थितमा पीडित परिवर्तित नाम धादिङ २४ (४९) ०७८।०७९ एक्लै घरमा रहेको र अन्य घरका परिवारहरु कोही पनि नभएको अवस्थामा प्रतिवादी परिवर्तित नाम धादिङ २४ (५१) ०७८।०७९ पीडितको घरमा गई पीडितको घरको कोठाभित्र प्रवेश गरि पीडितलाई बोलाई कोठाको ढोका थुनी भित्र बसेपछि निजहरु बीचमा दाजु बहिनीको नाता पर्ने भएतापनि त्यसरी ढोका थुनी कोठा भित्र बसी अन्दाजी आधा घण्टा जती बसी बाहिर ननिस्केपछि मलाई शंका लागि मैले पीडितको आमालाई जानकारी गराई दिएकी हुँ । उक्त वारदात मिति र समयमा निज प्रतिवादी परिवर्तित नाम धादिङ २४ (५१) ०७८।०७९ ले पीडित आफ्नै बहिनी नाताको हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि जबरजस्ती करणी गरेका रहेछन् । निज प्रतिवादीले पीडितलाई अन्दाजी ३–४ वर्ष पहिलाबाट विभिन्न किसिमका बरबाहान गर्दे शरीरको संवेदनशील अंग स्तनहरु समाई, जबरजस्ती करणी गर्ने प्रयास गर्ने गरेका रहेछन् । यसरी आफ्नो बहिनी नाता भित्र पर्ने नाबालिकालाई जबरजस्ती करणी गर्ने प्रतिवादी परिवर्तित नाम धादिङ २४ (५१) ०७८।०७९ लाई प्रचलित कानुन बमोजिमको कारबाही हुनुपर्छ ।’

जिल्ला अदालतमा बयान दिने क्रममा प्रतिवादी र उनका एकजना साक्षीबाहेक सबैले सुरुदेखिको बयानलाई समर्थन हुने गरी बयान दिएका छन् ।

अस्पतालमै प्रतिवादीको सेटिङ

धादिङ जिल्ला अदालतमा भएको पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट भने दुविधायुक्त रिपोर्ट दिइएको छ । धादिङ जिल्ला अस्पतालका डाक्टर निवेश पाठकले दिएको स्वास्थ्य परीक्षण रिपोर्टमा नयाँ घाउचोट नदेखिएको भनिएको छ । जबकि वारदाताको डेढ महिनापछि भएको स्वास्थ्य परीक्षण रिपोर्टमा नयाँ घाउ देखिने कुरै थिएन ।

स्वास्थ्य परीक्षण रिपोर्टको सम्बन्धमा अदालतमा बयान गर्ने क्रममा पनि डाक्टर पाठकले कन्फ्युजन रहेको बयान दिएका छन् । अदालतको बयानमा डा. पाठकले भनेका छन्, ‘…प्रतिवादीले पीडितलाई आफ्नै घरमा बोलाई प्रतिवादीकै कोठा भित्र लगि पीडित नमान्दा पनि पैसा दिन्छु भनी पीडितलाई फकाई फुलाई जबरजस्ती करणी गर्न खोज्दा प्रतिवादीको लिङ्ग पीडितको योनीभित्र छिराउन खोज्दा नछिरे पश्चात बहिर नै वीर्य झारेको भनी पीडितले चेकजाँचको क्रममा बताएकी थिइन् । यस भन्दा पहिले पनि प्रतिवादीले पीडितमाथि यस्तै किसिमको यौन दव्र्यवहार ३–४ पटकसम्म गरेको भनी बताएकी थिइन् । पीडितको स्वास्थ्य चेकजाँच गर्ने क्रममा पीडितको शरीरमा कहीँकतै घाउचोट थिएन । पीडितको कन्याजाली च्यातिएको थिएन । तर, यस परिस्थितिमा कन्याजाली नच्यातिएपनि करणी हुन नसकेको भनेर भन्न नमिल्ने अवस्था हुन्छ । उमेर नपुगेका बच्चाहरुको कन्याजाली भित्र हुने कारण, कुमारित्व बढी लचकता वा धेरै Rigid भएर, कसैको Hymen is annular shaped हुने भएर पनि नच्यातिएको हुनसक्छ ।’

तर अदालतले अस्पतालको यही बयान र रिपोर्टलाई आधार मानी कन्याजाली नै नच्यातिएपछि बलात्कार हुन सक्दैन भन्ने आशयको फैसला गरेको छ । यता अदालतले स्वास्थ्य परीक्षण रिपोर्ट दिँदा प्रतिवादीसँग मिलेर आर्थिक लाभ लिई झूटो स्वास्थ्य परीक्षण रिपोर्ट दिएको पीडितको दिदीको दावी छ । उनले लोकपथसँग भनिन्, ‘के भएको हो, गाउँका सबैलाई थाहा छ । एकपटक होइन, पटकपटक बलात्कार भएको छ । तर शक्ति र पैसाको आडमा अस्पतालको रिपोर्ट भनी भएकै होइन भन्ने बनाइएको रहेछ ।’

सर्वोच्चको नजीर विपरीत वारदातस्थलमा न्यायाधीशको शंका

धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीले प्रतिवादीलाई सफाय दिने नियतबाट तयार पारेको फैसलामा सर्वोच्च अदालतको नजिर विपरीत वारदातस्थलको विषयमा प्रश्न उठाएका छन् । बहुचर्चित पूजा बोहरा बलात्कार प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासबाट भएको फैसलामा बलात्कारपछि पीडितमा मानसिक असन्तुलन हुनसक्ने र पीडितको शरीर नै घटनास्थल हो भन्ने नजिरलाई अस्वीकार गरेको पाइन्छ ।

सर्वोच्चको उक्त फैसलाको बलात्कारपछि पीडितको मानसिक सन्तुलन बिग्रन सक्ने कुरा उल्लेख गरेको छ । फैसलाको बुँदा नम्बर ५७, ५८ र ५९ मा बलात्कारपछि पीडितको मानसिक सन्तुलन बिग्रन सक्ने र पीडितले तत्कालीन समयमा बयान गर्दा वारदातस्थल वा घटना प्रकृतिमा फेरबदल भएपनि त्यसलाई प्रमाण नपुगेको भनेर ब्याख्या गर्न नमिल्ने उल्लेख गरेको थियो ।

त्यसैगरी सोही फैसलामा पीडितले घटनास्थलबारे यकिन स्थान बताउन नसकेपनि बलात्कारको घटनामा पीडितको शरीर नै घटनास्थल हुने उल्लेख छ ।

उक्त फैसलामा भनिएको छ, ‘…पीडितको जाहेरी ब्यहोरा र बकपत्रमा भएको वारदात स्थल सम्बन्धि भिन्नतालाई नै आधार मानेर घटना नै नभएको भनी अर्थ गर्नु न्यायोचित देखिँदैन । पीडितमा sperm भेटिनु, रौँ भेटिनु शरीरको विभिन्न भागमा निलडाम र चोट हुनु आदिबाट घटना घटेको भनि स्थापित भएको नै देखिन्छ । जबरजस्ती करणीको वारदातमा घटना घट्यो कि घटेन भन्ने विषय बढि महत्वपूर्ण हुने र यस अदालतले पनि सोही कुरा नै विचार गर्नुपर्ने देखिन्छ । जबरजस्ती करणी कसूरमा मुख्य वारदात स्थल नै पीडितको शरीर हो अर्थात In cases of rape, the victi’ms body itself is the scene of crime’ यसै सम्बन्धमा ‘जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नु पर्छ’ भनि पुनरावेदक वादी नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादी सरोज हिङमाङ समेत भएको जबरजस्ती करणी मुद्दामा यस अदालतबाट सिद्धान्त समेत प्रतिपादित भएको छ ।’

तर, धादिङ जिल्ला अदालतका न्यायाधीश पराजुलीले गरेको फैसलामा भने स्वास्थ्य परीक्षण रिपोर्ट, वारदातस्थल आदिलाई मुख्य आधार मानेर प्रतिवादीलाई बलात्कारको मुद्दाबाट सफाई दिँदै बाल यौन दुरुपयोगमा मात्रै दोषी ठहर गरी प्रतिवादीलाई ठूलो सजायबाट उन्मुक्ति दिएका छन् ।

अदालतको फैसलामा भनिएको छ, ‘यो मुद्दामा जाहेरी परेपछि मिति २०७८।७।२८ मा पीडितको जन्म दर्ता प्रमाण पत्र जारी भएको छ । नेपाल सरकारले प्रतिवादी पीडितको कोठामा पुगेको र कसूरजन्य कार्य हुन आँटेको, वारदातस्थल प्रतिवादीको घर हो भनी बकपत्रमा विरोधाभाषपूर्ण भनाई आएको परिप्रेक्ष्यमा मौकाका मानिस जाहेरवाला लगायत प्रतिवादीको अदालत समक्षको भनाईहरु तर्फ थप विचार गर्दा जाहेरवाला अर्थात पीडितका दाजु मौकाका साक्षी नभई निज चितवन गएको भन्ने छ । निजको बकपत्रको स.ज.मा आमाले प्रतिवादीसँग रु. १५,००० लिनु भएकोमा फिर्ता गरिसक्नु भएको भनी बताउनु भएको भन्ने छ । निजको बकपत्रको सवाल जवाफ ५ मा लेनदेन सापटीमा विवाद थियो भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादीले मौकामा अपराध अनुसन्धानको क्रममा जबरजस्ती बयान गराएको भन्दै अदालत समक्षको बयानको स.ज.६ मा सो नगद सम्बन्धमा, पीडितको आमासँग समेत रुपैयाँ लेनदेन सम्बन्धमा झगडा भएको भन्ने उल्लेख भएबाट कतै यसै मनमुटाव भएको परिप्रेक्ष्यमा समेत उजुरी परेको हो कि ? भन्ने प्रश्नमा विचार गर्नु पर्ने हुन्छ । किनभने शुरु जाहेरी पीडितको मौकाको भनाई र अदालतको बकपत्रमा करणी हुन पाएन, केटाको घर आफू गएको हो भनी वारदातस्थल नै फरक फरक लेखाई विरोधाभाषपूर्ण देखिएको छ । साथै, विशेषज्ञको रिपोर्टले पनि कसूरजन्य वारदात भएको भन्ने संकेत गर्न नसकेको अवस्थामा कतै रुपैयाँ लेनदेनको विषय वस्तुमा रिसराग थियो की भन्ने कुरा प्रतिवादी, निजका साक्षी र स्वयं पीडितको दाजुको भनाईको आधारमा अनुमान योग्य बन्दछ । फौजदारी कसूर स्थापित हुनको लागि वस्तुनिष्ठ आधार चाहिने हुन्छ । वादी पक्षका मूल साक्षी पीडितकै भनाई र बकपत्रमा अन्तर विरोध भएको अवस्थामा अदालतले सो कुरालाई कसूरजन्य कार्यको नोचोड हो भनी अनुमान गर्न मिल्ने हुँदैन ।’

फैसलामा वारदात भएपछि जन्मदर्ता किन बनाइयो भन्ने पनि प्रश्न गरिएको छ जबकि अदालतको काम १३ वर्षकी बालिकाको जन्मदर्ता किन समयमै बनाइएन भनेर प्रश्न गर्ने होइन । प्रमाणको विश्लेषण गर्न छाडेर वारदातपछि जन्मदर्ता बनाइएको विषय उल्लेख गरिएको छ ।

बलात्कारको मुद्दाबाट सफाई दिई बाल यौन दुरुपयोगमा कसुर ठहर गर्दा पनि न्यायाधीश पराजुलीले प्रतिवादीको बयानलाई मात्रै आधार लिएका छन् । बाल यौन दुरुपयोगको कसुर ठहर गर्ने फैसलामा भनिएको छ, ‘यो वारदातमा प्रतिवादीले मौकामा कसूरजन्य कार्य भएको भनी बयान गरेकोमा अदालतको बयानको स.ज. ७ मा समेत अन्यथा भनी मौका साथै स.ज.९ मा समेत आपसी वैमनस्यता रहेको, जबरजस्ती छाप सही गराएको भन्ने छ । अन्य लेनदेन झगडाको कारण उजुर गरेको भन्ने र मेडिकल रिपोर्टले जबरजस्ती करणी भएको देखाएको छैन । वारदातपछि उमेरको कागज बनेका छन् । पीडितको अदालतको बकपत्रको स.ज.नै निजको घरमा नभै पीडकको घरमा पुगेको र जबरजस्ती करणी गर्न नपाएको भन्ने छ । यद्यपि प्रतिवादी र पीडित बालिकाबीच भेट भई बाल यौनजन्य दुरुपयोग भने भएको भनी मुलुकी अपराध संहिताको दफा २२५ अनुसारको कसूरसम्म होकी भन्ने अनुमान बन्दछ । आमा र प्रतिवादीबीच रु. १५,००० लेनदेन भनी पीडितको दाजुले पनि पूर्व अवस्थासम्म देखाएका छन् । तसर्थ सोही संहिताको दफा २२५ अनुसार एक वर्ष कैद र रु. १०,००० जरिवाना हुने ठहर्छ । सोही संहिताको दफा २२८ अनुसार प्रतिवादीबाट क्षतिपूर्ति रु. ५०,००० पीडितले पाउने ठहर्छ । पीडित राहतकोषमा प्रतिवादीबाट रु. ४०० शुल्क असुल गर्ने ठहर्छ ।’

यसरी धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीले हाडनातामा भएको बलात्कारको कसुरमा प्रतिवादीलाई सफाई दिँदै ‘अनुमान’को भरमा बाल यौन दुरुपयोगमा कसुर ठहर गरेका छन्, जबकि पीडित बालिका त्यसपछि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन् ।

फैसलाको ठीक अगाडि प्रतिवादीले ९० लाखको जग्गा बेचे

पीडित बालिकाका दिदीका अनुसार प्रतिवादीले फैसला हुनुभन्दा ठीक अगाडि धादिङबेसीमा रहेको आफ्नो जग्गा करिब ९० लाख रुपैयाँमा बेचेर वकिल र न्यायाधीशलाई घुस खुवाएको आरोप लगाएकी छन् । ‘जिल्ला अदालतले फैसला गर्यो त्यसाबाट हामी सन्तुष्ट छैनौँ,’ लोकपथसँग कुरा गर्दै पीडितकी दिदीले भनिन्, ‘सबैतिर घुस खुवाएर छुटेको भन्ने सुनेको छु । छुट्ने समयमा ९० लाखको जग्गा बेचेर खर्च गरेको भन्ने पनि सुनेको हो । तर के हो भन्ने धेरै जानकारी छैन । तर हामीमाथि अन्याय भएकै हो । कोहीसँग कुरा गरेमा ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् ।’

यता धादिङ जिल्ला अदालतले २०७९ फागुन ३ गते गरेको फैसलाको पूर्णपाठ हालसालै मात्रै अदालतको वेबसाइटमा प्रकाशन गरिएको छ । उक्त फैसलाको प्रमाणीकरण २०८० जेठ ३ गते गरेको उल्लेख छ ।

यता जिल्ला सरकारी वकिल कार्यालय धादिङले भने गत असार १९ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा पुनरावेदन गरेको धादिङका सहायक जिल्ला न्यायाधिवक्ता एवम् सूचना अधिकारी रविन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?