स्वर्ण पदक विजेता महर्जनलाई ‘काव्य खेल सम्मान’

काठमाडौं । गत पुसमा थाइल्याण्डमा आयोजित १० औँ विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित “काव्य खेल सम्मान-२०७५” प्रदान गरेको छ । 

महर्जनका कारण नेपालले शारिरीक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेको थियो ।

जाउलाखेलस्थित खेलमैदानमा आयोजित नवौं काव्य खेल सप्ताह समापनको अवसरमा शुक्रबार काव्य स्कुलले स्वर्णपदक विजेता महर्जनलाई नगद ५ हजारसहित “काव्य खेल सम्मान” बाट सम्मान गरेको हो ।

सो विद्यालयका  संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए । 

काव्य स्कुलले २ वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकालाई पनि “काव्य खेल सम्मान” प्रदान गरेको थियो ।

नवौं काव्य खेल सप्ताह समापनको अवसरमा स्वर्ण विजेता महर्जनको सम्मानमा काव्य स्कुलका विद्यार्थीहरु कोशिस, सुमन, म्याक्स, धिरेन्द्र, प्रशन्न, निश्चल, दिक्षान्त, जोनिश तथा कुशलले शारिरीक सुगठन प्रस्तुत गरेका थिए । यसैगरि विद्याथीहरुले तेक्वान्दो, उसु, मार्चपास, नृत्यलगायत विविध खेलकूद प्रस्तुत गरेका थिए । 

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कुलले खेलकूद र शिक्षालाई संगसंगै अगाडी बढाईरहेको उल्लेख गर्दै ६ वर्षभन्दा साना वालवालिकालाई पढाई होइन शारिरीक तथा बौद्धिक विकासको लागि खेलकूदमा सहभागी गराउनुुपर्नेमा जोड दिए ।

नवौं काव्य खेल सप्ताहमा तेक्वान्दो, उसु, फुटसल, फुटबल, भलिवल, विभिन्न दुरीको रिले दौडलगायत दुईदर्जन थरी खेलकूदहरु समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?