‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ गीतप्रति जनवादी गायक जीवन शर्माको असहमति

काठमाडौं । गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा नेपालमै छ छुट’ भन्ने शब्दमा प्रख्यात जनवादी गायक जीवन शर्माले असहमति जनाएका छन् । 

यो गीत अतिरञ्जित भएको भन्दै जीवन शर्माले भने ‘यो अतिरञ्जित भनाइ हो, एक त लुट्नेहरु नेपालमा मात्रै छन् भन्न मिल्दैन । अर्को, लुट्न सके लुट भन्ने शब्दले जनमानसमा नकारात्मक सन्देश लिन्छ ।’ 

यसैगरी गीतको तेस्रो हरफमा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा गाइएको छ । गीतमा लेखिएको छ, ‘गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा, त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज, जनताको मुटुभित्र काँडा कति कति, डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति, लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ त्यसैगरी डेढ अर्बको हेलिकोप्टर चढेको भनेर राष्ट्रपतिलाई सोझै आरोपित गरिनु पनि ठीक नभएको जीवन शर्माको भनाइ छ । 

उनले भने, ‘राष्ट्रपति भनेको एउटा सम्मानित संस्था हो । यो संस्थालाई विवादमा मुछ्ने खालका शब्दहरु नलेखेको भए हुन्थ्यो ।’ 

यस्तो गीतले सिंगो देशप्रति नै नकारात्मक सन्देश फैलाउन नहुने उनको जिकिर छ । 

यसैगरी पशुपति शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘लु्ट्न सके लुट कान्छा’बोलको गीतबाट कसैलाई चोट पुग्न गएको भन्दै माफी समेत मागेका छन् । साथै उनले उक्त गीत शनिवार युट्युव च्यानलमार्फत हटाएका छन् । 

उनले भनेका छन्, ‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि  रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि  प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युवबाट मैले हटाउने निर्णय गरेको छु ।’

सम्बन्धीत समाचार:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?