कविता : नयाँ शासक

भानू दाहाल 

कठोर शासक सिंहासनमा थियो 
शासनको तातो रापले पिल्सिएका 
जनतालाई मलहम लाउन भनेर
उ क्रान्तिको राँको बोकेर सडकमा निस्कियो  

***

आधा बर्ष आकाश चुहिने छानो टाल्न
आधा फाटेको बा’को टोपी फेरिदिन
आधा पेट हुने आमाको भान्सा भरिदिन
आधा लाज ढाक्ने श्रीमतीको इज्जत किन्न
आधा बाँचिरहेका लालाबालाको जुनी फेरिदिन
परदेशिन लागेको हर्केलाई आश्वासनले रोक्दै
उसले भन्यो– 
अव क्राान्ति गर्नुपर्छ,
शासन व्यवस्था फेर्नुपर्छ ।  

***

थोत्रा एकजोर कपडा बोकेको 
थोत्रै एउटा झोला फुत्त फालेर
हर्के उसँगै क्रान्तिमा होमियो 
अभावले भतभती पोलेको उसैको छातिमा
शासकको सिंहासन जोगाउँन गोली ठोकियो । 

***

हर्के सदाको लागि ढल्यो 

सँगै ढल्यो
छानो टाल्ने बाध्यता
बा’को टोपी फेरिदिने आसा
आमाको भान्सा भर्नुपर्ने आवश्यकता
श्रीमतीको इज्जत किनिदिने रहर
छोराछोरीको जुनी फेरिदिने सपना । 
र, ढल्यो
हर्केको तातो रगतको बाछिटाले
शासकको सिंहासन पनि । 

अव उ पुग्यो त्यो सिंहासनमा । 

अँह ! देखेन उसले पनि–
चुहिएको छानो
च्यातिएको टोपी
आगो नबलेको चुल्ह्यो
इज्जत नढाकिएको स्त्री
आधा बाँचिरहेका लालाबाला । 

***

झेलेर अभावकै हुण्डरी
हुर्कियो हर्केको छोरो 
देख्यो नयाँ शासकलाई सिंहासनमा
सोध्यो–

खै मेरो बा’को रगत मुल्य ? 

जवाफ दिन नसकेपछि
शासकले निमठ्यो त्यो बालकको आवाज
र, संसारलाई दियो आँफु बिरुद्ध बोल्नुको जवाफ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?