विश्वकप छनोट : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  ‘आइसिसी’ महिला एशिया क्वालिफायर छनोट खेल मंगलवारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । 

प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुवाती खुड्किलो हो । 

प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६—६ खेल खेल्नेछन् । 

नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेको छ । एशिया छनोछटमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल छनोटमा छानिनेछ । त्यो पनि दुई विश्वकपको छनोटको लागि । 

छनोटअघि थोरै समयको तयारी भए पनि थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ थाइल्याण्ड गएको छ । 

छनोट अन्तर्गतका खेल आज ‘सोमवार’देखि शुरु भए पनि नेपालले पहिलो खेल मंगलवार मलेशियासँग खेल्दै छनोट खेल शुरु गर्नेछ । दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स ‘यूएई’, फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । 

नेपालले गत महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा थाइल्याण्डसँगै युएई, चीन र मलेशियासँग खेलिसकेको छ । समूहचरणमा अपराजित रहेको नेपालले सेमिफाइनलमा इण्डोनेशियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा थाइल्याण्डसँग पराजित भएको थियो । 

छनोटमा  आयोजक थाइल्याण्डलाई ग्लोबल क्वालिफायर पुग्ने मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसअघिका चार संस्करणमा पनि थाइल्याण्ड नै विजेता बन्दै अघिल्लो चरण पुगेको थियो । यसपटक थाइल्याण्डलाई नेपाल र युएई जस्ता राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छ । 

क्वालिफायरका सबै खेलले टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकाले वरियतामा रहेका टिमका लागि पनि यो क्वालिफायरले असर गर्नेछ । टी–२० वरियतामा थाइल्याण्ड १२औँ, युएई १४औँ र नेपाल १६ औँ स्थानमा छन् । 

एशियाली छनोटसहित अफ्रिका, अमेरिका, युरोप र ओशियानाबाट गरी कूल २७ राष्ट्रले पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा एशियाबाट सात टिमले प्रतिस्पर्धा गर्दैछन् भने अफ्रिकाबाट नौ, ओशियानाबाट ६, युरोपबाट तीन र अमेरिकाबाट दुई राष्ट्रले सहभागिता जनाउनेछन् । 

प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली शनिबार त्यसतर्फ गएको छ । नेपाली टोलीमा रुबिनासहित सीता रानामगर ‘उपकप्तान’, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन् । मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको दोस्रो क्वालिफायरमा छनोट हुने लक्ष्य रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?