‘डीपीएल’ क्रिकेट : रुपन्देही च्यालेन्जर्स प्ले अफमा प्रवेश, धनगढी प्रतियोगिताबाट आउट

काठमाडौं । रुपन्देही च्यालेन्जर्स जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । 

फाप्ला क्रिकेट मैदानमा सोमवार भएको खेलमा रुपन्देहीले  डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

१सय ७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको धनगढीको पारी १४ ओभरमा मात्र ६७ रनमा समेटिएको थियो । धनगढीका लागि पवन सर्राफले १५ रन, कप्तान सोमपाल कामीले ११ रन तथा सन्दीप रजालीले १० रन जोडे । धनगढीको पारी ध्वस्त पार्ने क्रममा रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित १५ ओभरमा  ९ विकेट गुमाउँदै १ सय ६ रनको योगफल तयार पारेको थियो । वर्षाले मैदानमा असर पारेपछि २० ओभरको खेल १५ ओभरमा झारिएको थियो । 

रुपन्देहीका लागि सुमित महर्जनले ३३ रन, बिनोद भण्डारीले २४ रन, बाबर हायातले १९ रन तथा बिक्रम शोबले ११ रन जोडे । 

धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र बिपिन खत्रीले समान २-२ विकेट लिन सफल भए । जितपछि रुपन्देहीले ५ खेलबाट ६ अंक जोडेको छ । यता धनगढी भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?