महिला फुटबल टोली मंगलवारदेखि बन्द प्रशिक्षणमा बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंगलवारदेखि सुनसरीको इटहरीमा शुरु हुँदैछ । 

नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिवार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मंगलवारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । 

भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो । 

साफलाई लक्षित गर्दै नेपाल फर्किएलगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राख्न लागिएको प्रवक्ता राईले जानकारी दिए । बन्द प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिनेछ । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ । 

साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुनेछ । “इटहरीमा बन्द प्रशिक्षण गर्दा त्यहाँको मौसममा ‘फिट’ हुन सजिलो हुन्छ”, प्रवक्ता राईले भने । 

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ ‘साफ’ले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो । 

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ । नेपाली महिला टोली हालै म्यान्मामा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?